विज्ञान प्रविधि

५ वर्षसम्म १०९ मेगावाट विद्युत निर्यात गर्न भारतले दियो अनुमति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०९ मेगावाट विद्युत भारतमा बिक्री गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालको विद्युत प्राधिकरणलाई २ जलविद्युत आयोजनाको १०९ मेगावाट ५ वर्षसम्म बिक्रीका लागि अनुमति दिएको हो । नेपाल विद्युत प्राधिकरणले भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)लाई उक्त विद्युत प्रतियुनिट ५ वर्षसम्म ५.२५ भारू (८.४ रुपैयाँ) मा बिक्री गर्नेछ ।

सोलु दूधकोशी र दोर्दीखोला जलविद्युत आयोजनाबाट उत्पादित क्रमशः ८३.४२ मेगावाट र २६.१९ मेगावाट विद्युत भारत निर्यात गर्न अनुमति स्वीकृति प्राप्त भएको प्राधिकरण स्रोतले जानकारी दियो । एनभीभीनले उक्त विद्युत भारतको हरियाणाका विद्युत वितरण कम्पनीलाई बिक्री गर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअगाडि नै नेपाल विद्युत प्राधिकरण र एनभीभीएनबीच ५ वर्षसम्म वर्षायाममा २ सय मेगावाटसम्म विद्युत खरिद बिक्रीका लागि सम्झौता भएको थियो ।

प्राधिरकणले उक्त विद्युत ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट भारत जाने भएको छ । प्राधिकरणले ५ वटा जलविद्युत आयोजनाको २ सय मेगावाट विद्युत ५ वर्षसम्म बिक्रीका लागि स्वीकृतिका लागि पेश गरेको थियो । त्यसमध्ये २ वटाको मात्रै अनुमति दिएको हो । प्राधिकरणले १० जुलाइमा यो प्रस्ताव गरेको थियो । पछिल्लो सम्झौता मध्यमकालीन भएको र अब हरेक वर्षायाममा नेपालबाट भारतमा सो परिमाणको बिजुली निर्यात निश्चित गरिएको समेत प्राधिकरणको भनाइ छ ।

पहिलो वर्ष ५ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्म र त्यसपछिको चार वर्षका लागि भने १ जुनदेखि ३१ अक्टोबरसम्म बिजुली निर्यात हुने भएको छ । यसअघि ४५२ मेगावाट बिजुली भारतमा बिक्री भइरहेको छ । भारतले नेपालको १० हजार मेगावाट विद्युत खरिद गर्ने निर्णय समेत गरेको छ ।