मनोरञ्जन

हिमालको फेँदीमा गल्फ हुने

काठमाडौं । मुस्ताङ गल्फ कोर्सले लोमान्थाङमा दोस्रो गल्फ च्यालेन्ज आयोजना गर्ने भएको छ । भदौ ३० बाट आयोजना हुने दोस्रो गल्फ च्यालेन्ज उच्च हिमाली भेगमा आयोजना हुने कमै प्रतियोगितामध्ये एक हो । विश्वको सबैभन्दा उच्च ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको गल्फ कोर्समा अदभूत अनुभव यहाँ खेलाडीले लिन पाउने छन् ।

संसारकै सबैभन्दा उचाइको गल्फ कोर्सको विश्व रेकर्ड बनाउने प्रयास समेत भएको छ । अहिलेसम्म सिक्किमको कुपुकमा रहेको याक गल्फ कोर्स (३९७० मिटर)का नाममा विश्वकै सर्वोच्च स्थानमा रहेको गल्फ कोर्सको कीर्तिमान छ ।


यसपालि हुने प्रतियोगितामा काठमाडौँ, धरान, पोखरा, बुटवललगायतका सहरबाट ४० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । तीमध्ये चार जना महिला गल्फर छन् ।

अर्को सालबाट अन्तर्राष्ट्रिय खेलाडी निम्त्याएर प्रतियोगिता गर्ने आयोजकको तयारी छ । विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ र बर्डिजलाई पुरस्कारको व्यवस्था गरिएको छ । होल इन वान गर्नेले भने घोडा पाउने छन् ।