फिचर

जो बाइडेनसहित २० शक्तिशाली मुलुकका राष्ट्रप्रमुख भारतमा

getty iamge\BBC

काठमाडौं । विश्वको अग्रणी अर्थतन्त्र भएका शक्तिशाली मुलुकका नेताहरू भारतमा आइपुगेका छन् । जसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसमेत सहभागी छन् । उनीहरु जी–२० शिखर सम्मेलनमा भाग लिन भारतको राजधानी दिल्लीमा आइपुगेका हुन् । नयाँ दिल्लीमा सेप्टेम्बर ९–१० मा यो सम्मेलन आयोजना भएको छ । यो वर्षको शिखर सम्मेलनको मुख्य विषय दिगो विकास र युक्रेनमा जारी द्वन्द्वबारे राखिएको छ । ग्रुप अफ ट्वेन्टी अर्थात् जी२० विश्वका शक्तिराष्ट्रहरूको एउटा समूह हो। यसको बैठक विश्वव्यापी अर्थतन्त्रबारे योजना बनाउन केन्द्रित हुने गर्छ।

जी२० राष्ट्रहरूले वैश्विक अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच कुल व्यापारमध्ये ७५ प्रतिशत हुने गर्छ। विश्वको कुल जनसङ्ख्यामध्ये दुईतिहाइ मानिसहरू ती देशमा बस्छन्। आर्जेन्टिना, अस्ट्रेलिया, ब्रजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेशिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, दक्षिण कोरिया, यूके र अमेरिका उक्त समूहका सदस्य हुन्।

स्पेनलाई पाहुनाका रूपमा निम्तो दिइएको छ। जी२० राष्ट्रमध्ये सात वटाको समूह जी७ पनि छ। जी२० का कतिपय देशहरू (ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका ( ले ब्रिक्सु नामक अलग्गै समूह बनाएका छन्। उक्त समूह ठूलो हुने क्रममा छ। ब्रिक्सको हालै सम्पन्न शिखर बैठकमा आर्जेन्टिना, इजिप्ट, इरान, इथिओपिया, साउदी अरब र यूएईसहित छ देशलाई पनि आमन्त्रण गरिएको थियो।

जी२० राष्ट्रका शीर्षस्थ नेताहरूले छलफल गर्ने विषयहरू हालैका वर्षहरूमा अर्थतन्त्रमा मात्र सीमित छैन। जलवायु परिवर्तन, दिगो ऊर्जा, अन्तर्राष्ट्रिय ऋण मिनाहा, बहुराष्ट्रिय कम्पनीहरूलाई कर लगाउने विषयहरूमा पनि छलफल हुन थालेको छ। प्रत्येक वर्ष एउटा फरक जी२० सदस्यराष्ट्रले अध्यक्षता ग्रहण गर्ने अभ्यास छ। सोही राष्ट्रले बैठकको विषयवस्तु तय गर्ने गरेको पाइन्छ। सन् २०२२ मा इन्डोनेशियाले जी२० को अध्यक्षता ग्रहण गरेको थियो र शिखर सम्मेलन बालीमा आयोजना गरिएको थियो।

सन् २०२३ को अध्यक्ष भारतले दिल्लीमा हुने शिखर सम्मेलन दिगो विकासमा केन्द्रित भएको हेर्न चाहेको छ। भारतले विकसित र विकासशील देशहरूबीच आर्थिक वृद्धिमा समान पहुँच कायम गर्न चालिनुपर्ने कदमहरूप्रति पनि रुचि व्यक्त गरेको छ। सम्मेलनमा सामूहिक बैठकबाहेक विश्वका राष्ट्रपति र प्रधानमन्त्रीहरूले एक्लाएक्लै भेटवार्ताको अवसर पनि पाउने छन्।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले राष्ट्रपति जो बाइडनले विभिन्न नेताहरूसँग भेटवार्ता गर्ने र जलवायु परिवर्तनसँग जुझ्ने उपाय, युक्रेनमा जारी रुसी युद्ध र गरिबीविरुद्धको विश्वव्यापी लडाइँमा विश्व ब्याङ्कजस्ता संस्थाहरूले चाल्नुपर्ने कदमलाई अझ बलियो बनाउनुपर्ने विषयमा छलफल गर्ने जनाएको छ। तर क्रेम्लिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने जनाएको छ। चिनियाँ राष्ट्रपति सी जिन्पिङ पनि सम्मेलनमा सहभागी नहुने विवरणहरू आएका छन्।