विश्व

जर्मनीमाथि जापानको सानदार जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले जर्मनीमाथि ४–१ को सानदार जित निकालेको छ । गत कतार विश्वकपमा समेत जापानले जर्मनीलाई हराएको थियो । जर्मनीको मैदान वुल्फ्सबर्गको फक्सवागन वोल्सवागेन एरेनामा भएको खेलमा जापानले जर्मनीलाई ठूलो अन्तरको हार चखाएको हो ।

खेलको ११ मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाए पनि बायर्न म्युनिखका फरवार्ड लेरोय सानेले १९औं मिनेटमै बराबरी गोल फर्काए । इटोकै पासमा २२औं मिनेटमा आयसे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । त्यसपछि ९०औं मिनेटमा ताकुमा असानो र इन्जुरी टाइममा आओ तनाकाले गोल गर्दै जापानलाई ४–१ को जित दिलाए ।

जर्मनीको पछिल्लो पाँच खेलमा यो चौथो पराजय हो भने सन् २०२० मा नेसन्स लिगमा स्पेनसँग ६–० ले पराजित भएपछिको यो सबैभन्दा ठूलो हार हो । २०२२ मा कतारमा भएको विश्वकपमा पनि जर्मनी जापानसँग २–१ ले पराजित भएको थियो ।