समाचार

मोरक्कोमा विनासकारी भूकम्पको भग्नावशेषमा पुरिएकाको उद्दारमा कठिनाई

REUTERS\BBC

काठमाडौं । विनासकारी भूकम्पको सामना गरेको मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको खबर सार्वजनिक भएको छ । कतिपय स्थानमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएको खबर सार्वजनिक भए पनि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको उद्धारकर्मीलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।

ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेको अनुमान गरिएको छ । तर, भूकम्प अति प्रभावित ठाउँमा उद्धारकर्मीसँगै राहतका सामग्री पठाउन कठिनाइ भइरहेको बीबीसीले लेखेको छ । भूकम्पका कारण ग्रामीण क्षेत्र जाने कतिपय सडक भत्किएका छन् । यसले प्रभावित क्षेत्रसम्म पुग्न कठिन भएको छ । भूकम्पको केन्द्रबिन्दु मराकेशबाट ७५ किलोमिटर टाढा पहाडी क्षेत्र हाइ एट्लस माउन्टेन्समा रहेको छ ।


भूकम्प पछि धेरै मानिसले खुल्ला आकाशमुनि रात बिताइरहेका छन् । गएको शुक्रवार राति गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको असर माराकेशसहित अन्य धेरै सहरहरुमा परेको छ । यस्तै, दुर्गम पहाडी इलाकामा पूरै गाउँहरू नै ध्वस्त भएका विवरण सार्वजनिक भएका छन् । भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार सयभन्दा धेरै घाइते भएका छन् ।