बिचार

नेपाली-भारतीय जातीय विभेद अमेरिकी समाजलाई अभिशाप

बिष्णु सिंह (बैजु)

भारत र नेपाल जातीय विभेदले ग्रसित मुलुकहरुमा पर्दछ । जुन अमानवीय हो । यी मुलुकहरुको समाजमा जातीय बिभेद सदियौंदेखि विद्यमान छन् । मानिस जन्मदा पुरुष, स्त्री र तेस्रो लिंगीको रुपमा जन्मिने भए तापनि पूरातनिक मान्यता अनुसार सृष्टिकर्ता ब्रह्माको मुखबाट ब्राह्मण, पाखुराबाट क्षेत्रीय, तिघ्राबाट वैश्य र पैतालाबाट शुद्र जन्मिएको भनि सनातनिहरुले चार वर्णको मनगढन्ते वर्गिकरण गरेको पाइन्छ।

यो मनगढन्ते जातीय वर्गिकरको सिद्धान्त बिकसित गर्दै मानव समाजलाई बिखण्डन गरेपछि केही वर्ग आलसी र धूर्त भई अरुलाई शोषण गर्दै गए भने कोही प्रकृयागत दासत्वलाई स्वीकार्दै अगाडि बढे । त्यसैले यो भेगमा केही अति धनि र सर्वत्र अगाडि छन् भने धेरै जनसंख्या गरिब र पिछडिएका छन। शुरुमा कामको आधारमा बिभाजन गरिएको भनिएतापनि कालान्तरमा अभिजात समुदायकाहरुले बिस्तारै आफ्नो खानपान र रजगज कायम राख्न कमजोर समुदाय जो संगठित भई आफ्नो अधिकारको लागि लडन सकदैन थिए, लाई जातमा बर्गिकरण गरि शोषण गर्ने उद्देश्यका साथ तिनलाई सदाको लागि दास बनाए। शुद्र बनाइएकाहरु आर्थिक रुपमा सक्षम र सीप भएका हुनाले आफुप्रति भएको अन्याय बिरुद्ध बिद्रोह गर्न थाले। ती बिद्रोहीहरुलाई संगठित हुन् रोक्न र तिनको बिद्रोह सदाको लागि दबाउन शैतानिरुपमा उत्रेर शुद्रहरुबीच पनि सानोठुलो जात बर्गिकरण गरि तिनीहरुलाई बहिष्करण गर्दै पाचौं बर्णमा राखिदिए।

यसरी ब्रह्माको सृष्टि भन्दै चारबर्णको वकालत गर्नेहरुले नै योजनावद्द तरिकाले ब्रह्माको मानव जन्म सिद्धान्त विक्षिप्त पारिदिए। भगवान ब्रह्माको सिद्धान्त कुनैपनि हालतमा मौसम जस्तो बदलिदैन। तर ब्रह्माले बनाएका भनिएका चार बर्णीय मानव जन्म सिद्धान्त भन्नेहरुले पाँच बर्णिय बनाईदिए। यसले पनि यो मगढन्ते मानवकृत सिद्धान्त भनि स्पष्ट बुझ्न सकिन्छ।

अनि शास्त्रमा उल्लेख भएको भन्दै अनेक प्रकारका मनगढन्ते कथाकुथुंगी बनाएर जबर्जस्ति तरिकाले जातीय विभेदलाई अगाडि बढाएर शोषणलाई मजबुत पारे। त्यसैले अहिले नेपालमा काम लगाएर यथोचित मजदुरी नै नदिने ब्याप्त प्रचलन देख्न सकिन्छ। अनि ति कामदार बधुवा ज्यामी सरह भएका छन।

शरीरमा कोढ लागे शरीर कुरुप र विक्षिप्त हुन्छ। त्यस्तै समाजमा जातीय बिभेद कायम रहे यसले कोढ कै रुपमा समाज र देशलाई नै विक्षिप्त पार्दछ। देशमा एकता, शान्ति, बिकास र उन्नतिको मार्ग अवरुद्ध हुन् पुग्दछ। नेपालमा यही कोढ कायम रहेको फलस्वरूप देशमा अशान्ति, चरम गरिबी, अस्सी लाख देशका नागरिक विदेस पलायन अनि संसारभरि दासत्व गर्न पुगेका नेपालीहरुबाट पठाईएको रेमिट्यान्सले देश चल्न बाध्य भएको यथार्थता सबैले देखिरहेका छन । यो अवस्थाले देश चाँडैनै असफल राष्ट्रको अवस्थामा पुग्न बाध्य हुन सक्छ। यस्तै अवस्थाको कारण सिक्किमका ९८ प्रतिशत जनताले भारतमा बिलय हुन् चाहेर जनमत संग्रह गरेर नै भारतमा बिलिन भए।

नेपालमा पनि केही भ्रष्टाचार गरि अकुत सम्पति बटुलेका शासक-प्रशासक र तिनका आसेपासे बाहेक अरु सबै जनताले अन्य देशमा बिलय हुने चाहना नगर्लांन भन्न सकिदैन। त्यसैले देश र शासन-प्रशासन चलाउनेहरुले बेलैमा बुद्धि पुर्याएर देशमा विद्यमान विभेद कठोरताका साथ् उन्मुलन गर्न जरुरी भईसकेको छ। देशको संबिधान र कानुनलाई अझ सशक्त बनाई व्यवहारमा कडाईका साथ् लागू गर्नुपर्छ र सबै जनतालाई समानताको अनुभूति गराउन सक्नु पर्दछ। अन्यथा बिभिन्न समुहका जनता संगठित भई बिद्रोह नगर्लान भन्न सकिदैन। त्यस्तो अवस्था आईपरे देश आफै नै छिन्नभिन्न हुन् पुग्दछ। त्यसैले समय छँदै भबिष्यको संकट आँकलन गरेर होशियारीपूर्वक जनतालाई एकजुट पार्ने कदम चाल्न अति आवस्यक छ। साथै देश-बिदेशमा रहेका संचारकर्मी, विद्वत वर्ग, वकिल, डाक्टर, ईन्जिनियर, प्राध्यापक, समाज सेवी, राजनीतिकर्मी, सबै तह र तप्काका नेपालीले आफ्नो देशको परिस्थिति र त्यसको सुधार र परिवर्तनको जिम्मेवारी लिनुपर्दछ। आफ्नो घर, देश बिग्रदा त्यसको सुधार गर्न आफै अग्रसर हुनुपर्दछ। आफ्नो काम आफैले नगरे, कसैले गरिदिदैन।

एकातिर हामी नेपाली अलग पहिचान भएको स्वतन्त्र राष्ट्रमा भारतीयले हस्तक्षेप गर्यो भन्ने गर्दछौ । अनि अर्कोतर्फ, उनीहरुकहाँबाट आयातित जातीय विभद अपनाएर आफ्नो सुन्दर देश विकृत पारिरहेका छौ। अनि कसरी स्वतन्त्र अलग राष्ट्रको पहिचान रहिरहन सक्छ ? हामी स्वतन्त्र र अलग राष्ट्र हौं भने भारतीयको बिसंगति र भेदभावपूर्ण प्रथाको नक्कल गर्न हुँदैन । के किराँत, खस राज्यमा, लिम्बुवानमा, मगर राज्यमा र अन्यमा भारतीय हिन्दुको जस्तो अमानवीय जातपात र छुवाछुत थियो र ? के नेपालीको पहिचान जातपात र छुवाछुत नै हो त ? के बुद्धले वा पशुपतिनाथले एक मानवले आफ्नै प्रतिमूर्ति अर्को मानवलाई दया, प्रेम करुणा, मानव कल्याण गर्न सिकाएको छैन ?

भारतका संबिधान निर्माता बाबा अम्बेडकरको नेतृत्वमा त्यहाँका लाखौलाख दलितहरु भेदभावबाट मुक्ति प्राप्त र्न बौद्धमार्गी बनें। तर नेपालमा उत्पिडित समुदायहरु बुद्धष्टमा जातिपातिको प्रदुषण देखेर त्यति बौद्ध धर्ममा लागेको देखिदैन।

बिभिन्न सोध अनुसार मानिसहरु दुई तत्वको कारण बिदेशिन बाध्य वा लालायित हुन्छन। एक धकेलिनु र अर्को आकर्षित हुनु। कतिपय मानिसहरु अमेरिका, बेलायत, अष्ट्रेलिया, मध्यपूर्व इत्यादि ठाउको बिकास र बिबिधता देखी त्यहाँ बसाई सर्न आकर्षित भएको देखिन्छ। त्यस्तै आफ्नो जन्मस्थलमा विभेद र बिकासको कुनै अवसर नदेखिनुले पनि मानिसहरु आफ्नो ठाउँ छोडन बाध्य भई बसाई सराई गर्दछन। नेपाली-भारतीयहरु स्वदेशमा गरिबी र विभेदको कारण संसारभरि अवसरको खोजी गर्दै पलायन हुन् शुरु भएको देखिन्छ। यो लेखकले अफ्रिकाको ५० डिग्री तापमान हुने बिभिन्न मुलुकमा समेत नेपालीहरु काम गर्न आएको भेटेको छ। अहिले नेपालीहरु बिदेसिन बाध्य हुनुको कारण पनि स्वदेशमा कुरीति, अन्धविश्वास, बिकृति, विभेद, कमाई खाने अवसर नहुनु, सुरक्षाको अभाव, इत्यादि कारणले बाध्य भई दिनहुँ हजारौको संख्यामा नेपालीहरु विदेश जान बाध्य छन। अस्सिको दशकदेखि नेपालीहरु पनि फाट्टफ़ुट्ट विदेश पलायन भएको सुनिन्थ्यो।यसै सन्दर्भमा ८० कै दशकमा एक कानुन पढ्न आएका विद्यार्थी पनि अध्ययन सकेपछि अमेरिकाको अवसरमा लोभिएर अमेरिकामै डेरा जमाई बसेको देखिन्छ। अहिले उनी नै दोहोरो नागरिकताको वकालत गर्ने प्रमुख देखिन्छन्।

संसारका प्राय सबै देशका मानिसहरु अमेरिकामा देखिन्छ। कतिले निकै एतिहासिक क्षमता बोकी आएकाले अमेरिकालाई विश्मा चिनाउन योगदान पनि पुर्याएको देखिन्छ। जस्तो : न्युयोर्क सहरको ब्रूक्लिन ब्रिज भनेपछि अमेरिकाको राष्ट्रिय एतिहासिक पहिचान बनेको झोलुङ्गे पुल हो जुन जर्मनबाट आएका जर्मन सिविल ईन्जिनियर, जोन ए रोइब्लिङ्गले निर्माण गरेको एक अद्भुत झोलुङ्गे पुल हो। संसारको राजधानी भनिने म्यान्ह्याटन सहर घुम्न आउने पर्यटकहरुले यो पुल अवश्य हेर्ने गर्दछन।अरुले विशिष्ट क्षमता बोकी आएर अमेरिकालाई गौरवान्वित बनाएका छन ।

तर नेपाली र भारतीयले भने जातपात र कुरीतिको सौगात अमेरिकालाई ल्याईदिएका छन। त्यसैले यहा अनेक जातजातका संस्था र जातीय विभेद बढदै गएको स्पष्ट भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको १२ औं नेपालको जनगणना २०७८ को नतिजा अनुसार अहिले नेपालमा जनसंख्या २ करोड ९१लाख ६४ हजार ५७८, १४२ जातजाति, १२४ मातृभाषा र १० धर्म देखिएको छ। यस मध्ये एक्काईस लाख भन्दा बढी बिदेशमा स्थायी रुपमा बसेको देखाईएको छ। अमेरिकामा नेपालीहरु पनि अस्थायी र स्थायीगरि पाँच लाख भन्दा बढी बसोबास गर्दछन भनि अनुमान गरिएको छ। तर पनि एनआरएन जस्तो संस्थाले समेत यकिन रुपमा तथ्यांक प्रस्तुत गर्न सकेको छैन।

संयुक्त राज्य अमेरिकामा बिभेद बिरुद्धको कानुन निर्माण गर्दाको बेला जातको आधारमा छूत र अछुत सानो र ठुलो हुन्छ भन्ने अमेरिकी कानुन निर्माताहरुले कल्पना पनि गरेका थिएनन्। यहाँ गोराले कलालाई गर्ने रंगभेद अवश्य थियो, र त्यसैलाई हटाउनु पर्ने थियो । तर कालाहरु गोराको घरमा पसी पकाई तुल्याई, सरसफाई र अन्य घरायसी कार्य गर्न पाउथे। नेपालको जस्तो घर भित्र पस्न नहुने, र छूत र अछुत भन्ने क्रिश्चियन समाजले गर्दैन थियो। त्यसैले अमेरिकामा सबैले घरायसी कामदारी गर्न पाएका छन। अमेरिकामा कानुनले जातलाई औपचारिक रुपमा विभेदको श्रेणीमा राखिएको छैन। यसको कारण हो कानुन लेखिंदाको समयमा जातीय विभेदको घटनाहरु जानकारीमा आएको थिएन। तर हाल आएर जातीय विभेदको घटनाहरु बिभिन्न प्रतिबेदनहरुमा उल्लेख भएको पाइन्छ। साथै अमेरिका मुलत क्रिश्चियन परिवेशमा बिकसित भएको मुलुक भएको र साथै परमप्रभुले सृष्टि गरेको एक पुरुष र एक स्त्रीबाट मानव जाति बिकसित भएको विश्वास गरिने हुनाले जातको कल्पना गरिएको थिएन। क्रिश्चियन धर्ममा आस्था र बिस्वास गर्नेहरु सबै एकै भगवानको सन्तान मानिन्छन। उनीहरु सँगै प्रार्थना गर्दछन् र त्यसै दौरान सबैले सबैसंग अंकमाल गर्दछन। सबैले क्रमवद्ध भएर एकैको हातबाट प्रसाद खान्छन। त्यस्तो समाज भएको देशमा गएकाले अरुको सभ्य सुगन्धित संस्कार, संस्कृति भएको देशमा शरणमा गएर आफुले ल्याएको दुर्गन्ध लादन खोज्दछन। यसैको फलस्वरूप अहिले अमेरिकामा जातीय विभेदको दुर्गन्ध फैलिएर अमेरिका जातीय विभेदलाई निर्ममतापूर्वक दण्डित गर्न अग्रसर भएको देखिन्छ। नत्र तिनको संख्या बढदै जाँदा भविष्यमा चर्चको अगाडि मन्दिर किन बनाएको ? भनि आवाज उठन सक्छ। त्यस्तै अमेरिकी समाजले खादै आएको गाई गोरुको मासु खादा बिरोधको अवाज उठन सक्छ, इत्यादि अमेरिकी समाजलाई मन नपर्ने अनेक उथल पुथल आउँन सक्छन।

भारतीय र नेपालीहरु अमेरिकाको शरणमा पुग्दा तिनको जातपात र विभेदकारी मानासिकता पनि संगै ल्याएको हुन्छ भनि अमेरिकाले कल्पना समेत गर्न सकेको थिएन। पहिलो पल्ट जे-१ भिसामा आएकी एक भारतीय दलित महिलाले आफ्नो अमेरिकी नागरिक बच्चाहरुसंगै बसी अमेरिकी आप्रवासी भिसाको माग गर्दा युए एस् सी आइ एसले त्यस्तो निवेदन पारित गर्न अमेरिकी अध्यागमन कानुन अनुसार दुईबर्ष भारतमै बसेको हुनुपर्ने भन्दै २००७ मा निवेदन खारेज गरिदियो। तर बच्चाहरुलाई आमासँग भारतमा लाग्दा त्यहाँ अनेक प्रकारको जातीय उत्पिडन हुने सुनेपछि एएओले उनलाई भारत पठाउन नपर्ने गर्न विदेश मन्त्रालयमा निवेदन गरिएको थियो। यसै मुद्धाबाट अमेरिकी अध्यागमनले भारतमा हुने जातीय विभेदको गहराईसम्म जानकारी पाएको थियो।

अमेरिका मानवअधिकारको पक्षमा निकै सशक्त रुपमा उभिएको मुलुक हुनाले यसले आफ्नो अध्यागमन कानुनमा कसैको जाति, धर्म, राष्ट्रियता, राजनीतिक बिचार वा कुनै सामाजिक समुदाय बिरुद्ध कुनै प्रकारको विभेद गरे वा गर्न सहयोग गरे त्यस्ताको भिसा वा अमेरिकी बसाई समाप्त हुने व्यवस्था रहेको छ। त्यस्तै अरुको धार्मिक क्रियाकलाप सिमित गर्ने वा निषेध गर्न खोजे पनि अमेरिकाको कानुनले दण्डित गर्नेछ।

हुनत शियाटल नगर सभाले फेब्रुअरी २०२३ मा जातीय विभेद बिरुद्ध कानुन पारित गर्ने पहिलो अमेरिकी नगर बनेको थियो।

तर अहिले क्यालिफोर्निया राज्यले नै जातको आधारमा मानिसले मानिसलाई विभेद गर्ने हिन्दुहरुलाई कठोर कानुनी सजाय दिन र पिडितलाई थप सुरक्षा प्रदान गर्न अमेरिकाको क्यालोफोर्निया राज्यको संसदको ठुलो बहुमत (३१-५)ले एस-४०३ विधयेक पारित गरेको छ। अब यसलाई गभर्नर गबिं न्युसमले हस्ताक्षर गरेपछि कानुन लागू हुनेछ।
अब भविष्यमा यस्तो कानुन अरु सबै अमेरिकी राज्यहरुमा बन्दै जाने बिश्वास गर्न सकिन्छ।
अब नेपालमा पनि नगरपालिका र गाउँपालिकासम्म जातीय बिभेद बिरुद्ध कानुनको कार्यान्वयन गर्न सक्ने व्यवस्था गर्न आवश्यक देखिन्छ। त्यसको निस्पक्षता र प्रभावकारीताको अनुगमन गर्न पनि उत्तिकै आवश्यक छ।