समाचार

सुन तस्करी प्रकरणमा सीआइबीले के दियो सिफारिस ?

file

काठमाडौं । झन्डै दुई महिनादेखि चर्चाको चुलीमा रहेको सुन तस्करीबारे पहिलो चरणको अनुसन्धान सकिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। हङ्‌कङबाट आएको विमानमा ल्याइएका आठ बाकस ब्रेकप्याड .ब्रेक शू) भित्र ६०.७ किलोग्राम सुन भेटिएको थियो। उक्त तस्कारी काण्डको अनुसन्धान गर्दा प्रहरीले भेटेको प्रमाणले त्यसबाहेक सुन निकाली पुनः प्याकिङ गरिएको अवस्थामा बरामद ब्रेकप्याडको तौलका आधारमा उक्त गिरोहले ३०० केजीभन्दा बढी सुन नेपाल भित्र्याएको देखिएको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार उक्त गिरोहले ३६२.७७८ केजी सुन तस्करी भित्र्याएको देखिएको छ। अहिलेको बजारमूल्यको आधारमा ३.५ अर्ब रुपैयाँको सुन अवैध पैठारी भएको पुष्टि भएको सीआईबीले जनाएको छ। यस मामिलामा प्रहरीले २३ नेपाली र नौ विदेशीसहित ३२ जनालाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार सुन तस्करीमा संलग्न भएको आशङ्का गरिएका चार नेपाली र १४ विदेशीसहित १८ जना फरार छन्। अनुसन्धानको दायरामा ५० जना आएको बताइएको छ। सीबाईबीका प्रवक्ता नवराज अधिकारीले २९ जना विरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए।

सीआईबीले उनीहरू विरुद्ध भन्सार ऐन अवैध सुन पैठारी तथा सङ्गठित अपराध अन्तर्गतका मुद्दा चलाउन सिफारिस गरेको छ। पक्राउ परेकामध्ये पाँच विदेशी नागरिकले नेपाली नागरिकता तथा राहदानी समेत लिएको खुल्न आएकाले त्यसमा पनि मुद्दा चलाउन सिफारिस गरिएको छ। सुन तस्करी काण्डको अनुसन्धानको नेतृत्व गरेकी सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले यो घटना अन्तरदेशीय अपराधको स्पष्ट उदाहरण भएको बताइन्।

नेपालभित्र चाहिँ राजनीतिक तथा उच्च प्रशासकीय संरक्षणको प्रत्यक्ष संलग्नता अहिलेसम्म नखुलेको उनले जनाएकी छन्। तर प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्ध र सम्पर्क दुरुपयोग भएको छनक भने आएको उनले बताइन्। उनका अनुसार सुन तस्करी गर्ने यो गिरोहका नाइकेहरूले इटली वा जापानका माफिया सङ्गठनहरूले प्रयोग गर्ने जटिल शैली अपनाएको देखिएको छ।