विश्व

लिबियामा यति ठूलो आपतकाल अगाडी किन दिइएन पुर्वसूचना ?

काठमाडौ । संयुक्त राष्ट्र सङ्घको विश्व मौसम सङ्गठनका अध्यक्षले लिबियामा आएको बाढीबाट ज्यान गुमाएका मध्ये धेरैलाई जोगाउन सकिने अवस्था रहेको बताएका छन् । प्रमुख पेटेरी टालसले पत्रकारहरूसँग कुरा गर्दै उक्त देशले बेलैमा बाढी सम्बन्धी चेतावनी सन्देश जारी गर्न सक्ने अवस्था रहे पनि नगरेको उनले बताएका छन् ।

आपतकालिन विपद व्यवस्थापन सैन्यले मानिसहरूलाई सुरक्षित स्थानमा लैजान सक्ने थिए र धेरैजसोको ज्यान जोगाउन सकिने थिया, उनलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले जनाएको छ। लिबियामा दुई थरी सरकार सक्रिय छ जुन अवस्थाले विपदप्रति तत्काल र संयोजित प्रतिक्रिया जनाउने कार्यलाई गाह्रो बनाएको छ।

विनाशकारी बाढी निम्त्याएको समुद्री आँधी लिबिया तर्फअघि बढ्दै गर्दा त्यहाँका दुवै सरकारहरूले बेग्लाबेग्लै सावधानीका उपायको घोषणा गरेका थिए। यसैबीच विनाशकारी बाढीबाट प्रभावित लिबियामा दुई अलग क्षेत्रमा अवस्थित प्रतिद्वन्द्वी सरकारहरूले पीडितहरूलाई राहत उपलब्ध गराउन तथा उद्धारमा सहकार्य गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

एउटा समुद्री आँधीका कारण देशको पूर्वी सहर डेर्नामा दुईवटा बाँध भत्किएर आएको विनाशकारी बाढीमा ५,३०० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ। कम्तीमा १०,००० जना हराइरहेको बताइएको छ र अन्य दशौँ हजार विस्थापित भएका छन्। डेर्नाका नगरप्रमुखले मृतकको सङ्ख्या १८,००० देखि २०,००० सम्म पुग्न सक्ने अनुमान गरेका छन्। डेर्नास्थित एक फोटोग्राफरका अनुसार अहिले त्यहाँ भत्किएका घरका भग्नावशेष र बाढीका कारण ज्यान गुमाउनेहरूको शव मात्र देखिन्छ।

डेर्नाको अवस्थालाई भूकम्प आएपछिको अवस्थासँग तुलना गरिएको छ। बीबीसी रेडिओ फोरनको वर्ल्ड टुनाइट कार्यक्रमसँग कुरा गर्दै टर्किश रेड क्रेसन्टका सहायक निर्देशक इब्राहिम ओजरले त्यहाँ भएको क्षति भूकम्पका कारण भएको जस्तो देखिएको बताए। मैले बाढी, डढेलो र भूकम्पसहित धेरै विपद् देखेको छु तर यो निकै फरक छ, उनले भने। संयुक्त राष्ट्रसङ्घका एक अधिकारीका अनुसार देशको पूर्व र पश्चिममा अवस्थित सरकारहरूले अन्तर्राष्ट्रिय सहायताका लागि अह्वान गरेका छन् र एकअर्कासँग समन्वय गरिरहेका छन्।
बीबीसी