फिचर

एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टिम पठाउँदै

काठमाडौं । चीनको हान्झाउमा आयोजना हुने एसियाली खेलकुद अर्थात एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टोली पठाउने तयारी गरेको छ । सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६–२३) सम्म चल्ने १९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडीले भाग लिने भएका हुन् । नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले एसियाडमा सहभागी हुने खेल र खेलाडी संख्या टुंगो लगाएको छद्ध ।

शिक्षक, म्यानेजर र अन्य अफिसियलको संख्या अझै टुंगिएको छैन । एसियाडमा भाग लिन जाने खेलाडीलाई बिहीबार एक कार्यक्रम गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाइ पनि गरे । एसियन गेम्स उद्‌घाटन हुने बेला चीन भ्रमणमै रहने प्रचण्ड उद्‍घाटन समारोहमा पनि सहभागी हुने छन् ।

‘यस पटक महिला भलिबल, महिला फुटबल, महिला कबड्डी, महिला ह्याण्डबल, पुरुष रग्बीमा नेपालले पहिलो पटक सहभागिता जनाउँदैछ । डान्स स्पोर्ट्समा पनि नेपाली खेलाडी सहभागी हुँदैछन् । २४ खेलाडी सहभागी गराउने भलिबल (पुरुष र महिला) बाहेक सबैभन्दा धेरै खेलाडी सहभागी गराउनेमा ई–स्पोर्ट्स दोस्रो स्थानमा छ । ई–स्पोर्ट्सका पाँच इभेन्टमा नेपालका २३ खेलाडी सहभागी हुने छन् ।

यसअघि ई(स्पोर्ट्समा ५ खेलाडी मात्र गणना गरेर राखेपले २३४ खेलाडी सहभागी हुने बताए पनि २३ खेलाडी सहभागी हुने भएपछि नेपालबाट सहभागी हुने कुल खेलाडी २५३ पुगेका हुन् । पहिलो पटक एसियाड खेल्न लागेको महिला फुटबल टिममा २२ खेलाडी छन् । भारोत्तोलनमा ५ खेलाडी छन् ।

नेपालबाट आर्चरीमा ४, एथलेटिक्समा ८, बास्केटबलमा ४, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २, फेन्सिङमा ६, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीमा १२, करातेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियन गेम्समा नेपालबाट सबैभन्दा धेरै २०३ खेलाडी सहभागी थिए । त्यसबेला नेपालले २५ खेलमा सहभागिता जनाएको थियो । २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाएका थिए ।