विश्व

इयूले टिकटकलाई गरायो साढे ३४ करोड यूरो जरिवाना

काठमाडौं । युरोपेली सङ्घको एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना सुनाएको छ ।
टिकटकले बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा जरिबाना गरिएको समाचार संस्था एएफपीले जनाएको छ । आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति निकालेर दुई वर्षको अनुसन्धानमा तथ्याङ्क चोरी गरेको फेला परेको जनाएको छ ।

आयोगले टिकटकलाई नियमअनुसार प्रक्रिया कार्यान्वयनमा ल्याउन तीन महिनाको समय दिएको छ । तथ्याङ्क चोरीबारे नियमनकारी संस्थाले सन् २०२१ को सेप्टेम्बरदेखि १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको व्यक्तिगत तथ्याङ्क सङ्कलन प्रक्रियाबारे टिकटकको अनुगमन शुरु गरेको थियो । तर, जरिबानापछि टिकटकले यो फैसलासँग सम्मानपूर्वक असहमत रहेको र अब कसरी अगाडि बढ्ने भन्नेबारे मूल्याङ्कन गरिरहेको जनाएको छ ।