विश्व

एन्टार्क्‌टिकमा किन मरे एकसाथ हजारौं पेङ्ग्विन ?

काठमाडौं । दक्षिणी ध्रुव अर्थात् एन्टार्क्‌टिक क्षेत्रमा बस्ने एम्परर पेङ्ग्विनका बचेराहरूको मृत्युको सङ्ख्या बढ्ने क्रम देखा परेको छ। त्यहाँ झण्डै १० हजार त्यस्ता कलिला पक्षीहरूको मृत्यु भएको अनुमान गरिएको छ। ती चल्लाहरूले समुद्रमा पौडी खेल्नका लागि आवश्यक पानीमा नभिज्ने प्वाँखहरू विकास गर्न सक्नु अघि नै मुनिको समुद्री बरफ पग्लिएपछि त्यस्तो अवस्था सिर्जना भएको हो। ती चराहरू कि त डुबेर वा ठिहिरिएर मरेको हुनसक्ने बताइएको छ। सन् २०२२ को अन्त्यतिर भएको त्यस्तो घटना उक्त महादेशको पश्चिमतर्फ बेलिङ्जहाउजन सागरमा तैरिएको क्षेत्रमा भएको थियो।

घटना भूउपग्रहमार्फत रेकर्ड गरिएको थियो। ब्रिटिश एन्टार्क्‌टिक सर्भे (बीएएस)का डा पिटर फ्रेटवेल त्यहाँ भएको विनाश भविष्यमा हुनसक्ने घटनाको सङ्केत रहेको बताउँछन्। एम्परर पेङ्ग्विनको ९० प्रतिशत भन्दा धेरै बथान यस शताब्दीको अन्त्यसम्ममा लोप हुने प्रक्षेपण गरिएको छ। उक्त महादेशको मौसमी बरफ सागरले पृथ्वीमा दिनदिनै बढिरहेको तापमानको मार खेपिरहेको छ। आफ्नो प्रजनन चक्रमा एम्पररहरू समुद्री बरफमा निर्भर हुन्छन्, चल्लाहरू हुर्काउनलाई यो स्थिर परिवेश हो। तर यदि त्यो बरफ हुनुपर्ने जति फराकिलो छैन वा धेरै छिटो टुट्यो भने यी चराहरू समस्यामा पर्छन्, उनले बीबीसीसँग भने।


डा फ्रेटवेल र उनका सहकर्मीहरूले मृत्युको उक्त क्रमका बारेमा कम्युनिकेसन्स अर्थ एन्ड इन्भायरोमेन्ट जर्नलमा लेखेका छन्। ती वैज्ञानिकहरूले बेलिङ्जहाउजन सागर क्षेत्रमा रहेमा पाँच वटा बथानलाई अवलोकन गरेका थिए। ती क्षेत्रहरू रोत्थ्सचाइल्ड टापु, भर्डी इनलेट, स्माइली टापु, ब्रायन प्रायःद्वीप र फ्रग्नर प्वइन्ट छन्।

ईयूको सेन्टिनेल(२ भूउपग्रहहरूको प्रयोग गरेर उनीहरूले पेङ्ग्विनका गतिविधिहरू अवलोकन गरेका थिए। पेङग्विनले सेताम्मे समुद्री बरफमा त्याग गरेका मलमूत्रको थुप्रोको आधारमा त्यस्तो अध्ययन गरिएको थियो। खैरो रङ्गको त्यस्तो मलमुत्रको धब्बा भूउपग्रहबाट समेत देखिन्छ। दक्षिणी गोलार्धमा मार्च महिनाको आसपास जाडो नजिकिँदै गर्दा वयस्क चराहरू समुद्री बरफमा हाम फाल्छन्। उनीहरू त्यहाँ जोडी बन्ने, संसर्ग गर्ने र अण्डा पार्ने काम गर्छन्। ती अण्डाहरू कोरलेपछि बचेराहरू स्वयंमा भर पर्न सक्ने नभएसम्म आउँदा महिनासम्म तिनको हेरचाह गर्छन्।

त्यो सामान्यतः नयाँ चराहरू समुद्रमा आइपुग्ने समय डिसेम्बर–ज्यानुअरी महिनाको आसपास हुन्छ। तर अनुसन्धान टोलीले देखे अनुसार नोभेम्बरमा एम्पररका बथान मुनिको समुद्री बरफ टुक्रिएको थियो। त्यो हजारौँ चल्लाहरूले पौडी खेल्नको लागि आवश्यक चिल्लो प्वाँखहरू विकास गर्न समय पाउनुअघिको बेला थियो।

फलस्वरूप चारवटा बथानमा प्रजननपछिको प्रकृया पूर्णतः विफल भयो। उत्तरी क्षेत्र रोत्थ्सचाइल्डमा मात्र केही सफलता देखा पर्‍यो। एन्टार्क्‌टिकको ग्रीष्मकालीन समुद्री बरफ सन् २०१६ पछि उल्लेखनीय रूपमा घटेको छ। जसले गर्दा उक्त महाद्वीपको वरिपरि जमेको पानीको कुल क्षेत्रमा नयाँ न्यूनतम रेकर्ड कायम भएको छ।
बीबीसी