समाचार

तिजको दर खाने दिन आज

काठमाडौं । हरितालिका तिजको दर खाने दिन आज परेकोछ । यससँगै तिज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ । दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् ।

धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार, दरका रुपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ । दर खाँदा आफ्नो शरीरमा चाहिने मात्र खान, दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य खान र दरसँग जाँडरक्सी नखान समेत चिकित्सकहरुको सुझाव छ । तिजमा खाइने दरमा खिर, तरकारी, मिठाइलगायत सधैँ खाइने परिकारभन्दा चिल्ला, पिरा, गुलिया र मसलेदार खानेकुरा धेरै समावेश गरिएको हुनाले त्यसले अपच तथा ग्यास्ट्रिकको समस्या हुन सक्छ ।