विश्व

चिनियाँ रक्षामन्त्री भ्रष्टाचार अभियोगमा बर्खास्तीमा परेको हुन सक्ने आशंका

Getty Images\BBC

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशंका अन्तर्राष्ट्रिय समुदायले गरेका छन् । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएपछि उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वालस्ट्रिट जर्नलले लेखेको छ । रक्षामन्त्री लीको अनुपस्थितिलाई लिएर एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले प्रश्न उठाएका छन् ।

जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले चिनियाँ सरकारमा ‘बेरोजगारी दर’ अति उच्च रहेको तथा धेरै वरिष्ठ सैन्य अधिकारीलाई अवकाशमा पठाइएको उल्लेख गर्दै रक्षामन्त्री लीको अनुपस्थितिले उनलाई जिम्मेवारीविहीन बनाइएको पुष्टि गर्न बल मिलेको बताए ।

ुअमेरिकाका लागि चीनका राजदूत रहेका छिन गङलाई अप्रत्यासित रुपमा बेइजिङ बोलाएर विदेशमन्त्री बनाएको केही महिना बित्न नपाउँदै उनलाई बर्खास्त गरेर वाङ यीलाई पुनः विदेशमन्त्री नियुक्त गरिएको कारण हाल सम्म खुलाइएको छैन । जनरल लीका सम्बन्धमा पनि चिनियाँ सरकारले धेरै कुरा गरेको छैन, अमेरिकी राजदूतले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । रक्षामन्त्री ली राष्ट्रपति सीकै निकट रहेको अलजजिराले उल्लेख गरेको छ ।

यसै साताको प्रारम्भमा रक्षामन्त्रीको अनुपस्थितिलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्तासमक्ष प्रश्न गर्दा त्यससम्बन्धमा आफूलाई कुनै जानकारी नभएको जवाफ दिएकी थिइन् । तीन साताअघि जनरल लीको अन्तिम सार्वजनिक उपस्थिति बेइजिङमा आयोजित अफ्रिकी राष्ट्रहरूको सुरक्षा फोरममा भएको थियो । यद्यपि रक्षामन्त्रीहरू केही सातासम्म सार्वजनिक दृष्टिकोणबाट अनुपस्थित हुनु असामान्य होइन ।

अलजजिराका अनुसार रक्षामन्त्री ली गत अगस्ट १५ मा रुसको मस्कोमा आयोजित एक सुरक्षा सम्मेलनमा सहभागी भएका थिए । त्यसको दुई दिनपछि बेलारुस सरकारले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेंकोसँग मिन्स्कमा भएको भेटवार्ताको तस्बिर सार्वजनिक गरेको थियो । त्यस्तै अगस्ट २९ मा लीले बेइजिङमा आयोजित अफ्रिका पिस एन्ड सेक्युरिटी फोरममा मुख्य प्रवचन दिएका थिए ।

यसअघि चिनियाँ परराष्ट्रमन्त्री छिन काङलाई पदबाट बर्खास्त गरिएको थियो । राष्ट्रपति सी चिनफिङका निकट मानिएका काङ अचानक बर्खास्तीमा परेका हुन् । काङको बर्खास्तीपछि वाङ यीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको थियो । नेपाल मामिलाका पनि जानकार मानिने वाङ भने दोस्रो पटक परराष्ट्रमन्त्री बनेका हुन् । उनी यसअघि २०१३ देखि २०२२ को डिसेम्बरसम्म परराष्ट्रमन्त्री थिए । गत डिसेम्बरमा वाङपछि काङले नै परराष्ट्र मन्त्रालय सम्हालेका थिए ।