फिचर

नेप्सेमा उच्च अंकको गिरावट, सूचक फेरि २ हजार तल झर्‍यो

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गतसाता ७४ अंकले बढेको नेप्से आज एकैदिन ४२ अंकले घटेको छ । ठूला भनिएका वाणिज्य बैंकहरूले असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएसँगै सेयर बजार प्रभावित भएको हो ।

गत साता सरकारले स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिएसँगै प्रणालीमा थप तरलता सहज भएकाले असोजमा ब्याजदर घट्ने अपेक्षा गरिएको थियो । तर, बैंकहरुले उल्टो निक्षेपको ब्याजदर बढाउँदा लगानीकर्ता हतोत्साहित भएका छन् ।

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३६ करोडले बढेर १ अर्ब ४९ करोड पुगेको छ ।

आइतबार नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४.९१ विन्दुमा आइपुगेको छ । यसदिन २७८ कम्पनीको २ अर्ब २ करोड रुपैयाँ बढीको ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.३३ प्रतिशतले घटेकोे छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

उच्च अंकले घटेको बजारमा आज मेन्छियाम हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.२१ प्रतिशत गुमाएका छन् भने शुभम पावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।