फिचर

न्यूयोर्कमा नेपाली पत्रकारसँग के भने प्रधानमन्त्रीले ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गर्ने आश्वासन दिएका छन् । उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको समेत जानकारी गराए । कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने उनको प्रतिवद्धता छ ।

संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी हुन आइतबार न्युयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै त्यसको नियमनका लागि विशेष पहल गर्ने समेत बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए।

उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाए। अप्रधानमन्त्री प्रचण्डले पार्टी पंक्तिको उपल्लो तहमै केहि समस्या देखिएको भन्दै त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए।

न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। उनले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागी हुनै परेको बताए। प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।