डायस्पोरा

जनसम्पर्क समितिको कार्यक्रममा परराष्ट्र मन्त्रीको स्वागत कि बिदाई ?

न्युयोर्क

सेप्टेम्बर १७ तारिखमा जनसम्पर्क समितिले नेपालका परराष्ट्रमन्त्री एन पी सावद र भूपू मन्त्री जितेन्द्र देवको स्वागत कार्यक्रम आयोजना गर्यो। संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन आएका मन्त्री अति ब्यस्त भएकोले समयाभावको कारण सबैलाई ठिक अपरान्ह २ बजे उपस्थित हुन सुचना जनसम्पर्कका स्थायी महामन्त्री मुनेन्द्र नेम्वाङले सुचना जारी गरे। अनि अमेरिका जस्तो संसारको प्रमुख बिकसित देशमा समयको मूल्य र महत्व बुझेका बिभिन्न डाक्टर, वकिल, म्यानेजर, प्रोफेसर, जात जातका संस्थाका प्रतिनिधि, बिभिन्न संस्थाका बर्तमान र भुतपुर्व पदाधिकारीहरु, पत्रकारहरु मन्त्रीहरुको दर्शनार्थ २ बजे अगावै कार्यक्रम स्थल पुगे। तर मन्त्री त ३:३० सम्म पनि आईपुगेनन। बल्ल मन्त्री आईपुगे । सबैजना हतार गर्दै हल भित्र प्रवेश गरे। जनसम्पर्कका सभापति र महामन्त्रीले पाहुनाहरुलाई खादा माला लगाएर केही बोल्न दिएर चियापान गराई कार्यक्रम गर्लान भनि उपस्थितले सोचेका थिए। तर मन्त्रीको व्यस्त समयको बावजुद महामन्त्रीले सहभागीहरुको लामो परिचय गराए। अनि सहभागीहरुले मन्त्रीलाई खादामाला ओडाई स्वागत गर्न समय छुट्ट्याईयो। दर्शनार्थीहरुले खादामाला सहित उपस्थित हुनुपर्ने सुचना नपाएकोले केही समय त्यसै अलमलमा परे। अनि जनसम्पर्कको तर्फबाट एक गुण्टो खादा ल्याएर बीपीको फोटो छेउ थुपारियो। तर एक दुइ जनाले मात्र मन्त्रीलाई खादा लगाई दिए।

त्यसपछि २ मिनेटको समय दिएर मन्तब्य राख्न बक्ताहरु डाकियो। तर बक्ताले अहिले अल्पमतको प्रचण्ड सरकार भएको ठिक भएन। प्रजातन्त्रमा बहुमतको अथवा प्रमुख पार्टीले शासन चलाउन पर्छ। त्यसैले काग्रेस अगाडि बढी सरकार आफुले चलाउनु पर्छ भनि दिए। ति बक्तालाई अहिले माओबादी, समाजबादी र कांग्रेसले आलोपालो ५ बर्ष सरकार चलाउने सहमति अनुसार सरकार चलेको थाहा रहेनछ। अहिले कति त्याग तपस्या गरी बल्ल प्रचण्ड सरकारमा एन पी सावद मन्त्री हुन् पाएका छन। अब सरकार नै हटाउने माग भएपछि मन्त्री सावदको स्वागतको सट्टा बिदाईको कार्यक्रम गरे जस्तो सुनिएपछि मन्त्री सावदलाई आफ्नै सरकारको बद्खुवाई सुनेर हर्ष हुने त् कुरो नै भएन।
त्यस्तै अर्का एन आर एन आई सी सीका पदाधिकारीले दोहोरो नागरिकता दिन निवेदन गरे। तिनलाई अहिले नागरिकता बाड्ने प्रक्रिया शुरु भएको समेत जानकारी रहेनछ।
त्यस्तै अन्य बक्ताले युएनमा के बोले ठिक हुन्छ भनि मन्त्रीलाई सल्लाह सुझाव बिन्ति चढाए।

त्यस्तै जनजाति महासंघले बोले पनि अनेक जातजातकाले फेरी बोल्ने पालो आयो। अनि अनेक के के समयको पावन्दी बेगर बोलियो। यस्ता बकम्फुसे नेपालको गाउँ पाखातिर गर्न जस्तो कार्यक्रममा आएको महसुस भएपछि बिज्ञ ब्यक्तित्वहरु बिस्तारै बाहिरिदै गए। मन्त्रीले बोल्ने बेलासम्म त करिब करिब हल खाली हुन् पुग्यो ।
जनसम्पर्कका नेतृत्वकारीहरु मन्त्रीलाई एयरपोर्टमा स्वागत गर्न गएका थिए। फेरी यो अर्को कार्यक्रम गर्नुको पछाडि रहस्य बुझ्दा त चाकडी देखाउन मनसाय रहेको धेरैले बुझे। अमेरिका जस्तो देशमा आएर समयको महत्व र कार्यक्रमको प्रभावकारिता जानकारी नभएकाले के कार्यक्रम गर्नु भन्ने धेरैको भनाई रह्यो।