समाचार

परराष्ट्र मन्त्री एनपी साउद नेपाल फर्किए

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले अमेरिकाको एक साता लामो औपचारिक भ्रमण गरी स्वदेश फर्किएका छन् । गत १२ कात्तिकमा अमेरिका भ्रमणमा गएका साउद आइतबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तरार्ष्ट्रीय विमानस्थलमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री साउदले भ्रमण फलदायी भएको बताए ।

उनले भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएको समेत जानकारी दिए । ब्लिंकेनसँग भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्तामा नेपाल‒अमेरिका द्विपक्षीय सम्वन्धका बिषयहरु तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा विचारको आदान – प्रदान भएको उनको भनाइ छ ।

दुबै पक्षले आपसी हितका बिषयहरुमा सहकार्यलाई थप विस्तार र घनिभूत बनाउने प्रतिवद्धता व्यक्त गरेको उनले बताए । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नती हुन लागेको सन्दर्भमा नेपालको विकास प्राथमिकताका बिषयहरुमा प्रकाश पार्दै सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजार पहुँच, लगानी र व्यापार लगायतका क्षेत्रहरुमा अमेरिकी सरकारबाट सहयोग बढाउन समेत उनले आग्रह गरेको बताए ।

त्यस्तै, नेपालको लागि निर्यातयोग्य गार्मेन्ट, फुटवेयर र फार्मास्युटिकल बस्तुहरु थप गर्दै जीएसपी सुविधा र एनटीटीपीपीको विस्तार र पुनस्अनुमतीको लागि समेत उनले अनुरोध गरेका छन् । भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिंकेनले नेपालको लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण गर्नमा भएको प्रगतिलाई प्रशंसा गरेका थिए । ब्लिंकेनले अमेरिकी सरकार नेपाल एक बलियो र समृद्ध लोकतन्त्र भएको हेर्न चाहेको भन्दै नेपालको विकास प्रयत्नमा अमेरिकी सरकारको निरन्तर सहयोग रहने बताएको जानकारी दिए ।

भ्रमणको क्रममा साउदले यूनाइटेड स्टेट इन्ष्टिच्युट अफ पिसले वासिङ्टनमा आयोजना गरेको टक प्रोग्राममा सहभागी भएको र नेपालको परराष्ट्र नीतिका विषयमा आफ्नो विचार राखेको बताए ।