समाचार

काठमाडौंका चुचुरोलाई एक फन्को मार्दै पुरा भयो 'मन्जुश्री ट्रेल'

काठमाडौं । काठमाडौंलाई एक फन्को मार्दै पुरुष तर्फ रमेश लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र महिला तर्फ अनिता राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा १७० किलोमिटर पार गर्दै मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करणको उपाधी जित्न सफल भएका छन्। अल्ट्रा ट्रेल रेसमा ३ वर्षदेखि रुचि राख्दै आएका रमेश लिम्बू यस किसिमको रेसमा भने पहिलोपटक सहभागी भएको बताउँछन्। पहिले घरबाट स्कुल जाँदा ताप्लेजुङमा करिब एक घण्टाको बाटो दौडने गरेको बानी नै आफ्नो दौडको आधार भएको लिम्बुले बताए।

विजेता लिम्बू र राईले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विजरल्याण्डमा आयोजना हुने ुअल्ट्रा टुर मोन्टा रोसुमा सहभागी हुनेछन्। सो अवसरमा उनीहरूको आर्थिक लगायत यात्रा व्यवस्थापनमा मञ्जुश्री ट्रेल रेसले सम्योजन गर्नेछ।

शुक्रबार बिहान ६ बजे काठमाडौंको दहचोकस्थित कालु पाँडे डाँडाको फरेस्ट क्याम्पबाट १७० किलोमिटर दौड सुरू भएको थियो। यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र भएको आयोजकको भनाई छ।

ट्रेल रेसमा दौडने क्रममा प्रतियोगीहरूले फूल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भस्मासुर र चन्द्रागिरी लगायतका पहाडहरू चढ्ने, झर्ने गर्नुपर्थ्यो। सो क्रममा उनीहरूले ती सबै पहाड गरी कुल ९८०० मिटरको उचाइ लिएका थिए।

मञ्जुश्री ट्रेल रेस अन्तर्गत नै लामो दूरीमा सहभागी हुन अनुकूल नहुनेको सहभागीको लागि झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता पनि समावेश थिए। सबै दौडहरू दह चोक स्थित कालु पाँडे डाँडामै पुगेर सकिएका थिए।

९२ किलोमिटर रेस २० घण्टा १३ मिनेट ३ सेकेन्डमा पार गर्दै पुरुष तर्फ बिक्रम थामी विजेता बने। महिला सहभागी कसैले पनि ९२ किलोमिटर रेस पूरा नगरेकाले सो विधामा महिलातर्फ विजेता बनेनन्। ५४ किलोमिटर रेस ८ घण्टा ३३ मिनेट १९ सेकेन्डमा पार गर्दै पुरुष तर्फ बिकल्प पोख्रेल र महिला तर्फ ८ घण्टा ३६ मिनेट ३ सेकेन्डमा पार गर्दै मन्जु रावत प्रथम भएका छन्।

यस्तै २४ किलोमिटर रेस ३ घण्टा ५ सेकेन्डमा पार गर्दै पुरुष तर्फ श्याम मग्राती र महिला तर्फ ३ घण्टा ३९ मिनेट ९ सेकेन्डमा पार गर्दै प्रिया राई प्रथम हुन सफल भएका छन्। विजेताले प्रमाणपत्र र ुएड्भेन्चर गियरु लगायतका पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिताका चार चरणमा गरी ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना प्रतियोगी सहभागी थिए। जसमध्ये ६९ जना पुरुष र १९ जना महिला रहेको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए।

विभिन्न देशबाट यो कार्यक्रमकै लागि भनेर सहभागी आउनुले नेपालको ट्रेल रेस अन्तराष्ट्रिय जगतमा परिचित हुँदै गएको र राम्रो सम्भावना भएको पुष्टि गरेको आयोजक बताउँछन्।

पर्वतीय पर्यटन व्यवसायमा आवद्ध बेलायती नागरिक रोल्याण्ड हुन्टेर भन्छन् , गाह्रो होला तर यो ट्रेल निकै उत्कृष्ट छ। युरोपका विभिन्न ट्रेल दौडिसकेको छु तर यो ट्रेल निकै राम्रो लाग्यो।

हुन्टेर १७० किलोमिटर दौडमा दोस्रो भएका सहभागी हुन् ।

ट्रेल रेसका लागि नेपाल विश्वमै उत्कृष्ट गन्तव्य हो, यसको अझै प्रचार र व्यवस्थापन हुन सके ट्रेल रेसको हबका रूपमा नेपाललाई विकास गर्न सकिन्छ, अन्तराष्ट्रिय क्षेत्रमा ट्रेल रेसको क्षेत्रमा लागि परेका जिम्मी ओस्त्रोमले भने।

उनी थप्छन्, १७० किलोमिटर दौडदा ९० प्रतिशत भन्दा भढी भागमा मानव निर्मित संरचना भेटिँदैन। राजधानी नजिक भएर पनि यसरी कृत्रिम संरचना रहित भएर प्रकृतिको काखमा रमाउन पाउनुमा बेग्लै आनन्द छ।

ुनेपालमा प्रचुर सम्भावना भएर पनि ट्रेल रेसको कल्चर भने विस्तारै विकास हुँदै गइरहेको छ, रेस व्यवस्थापक महेश दाहाल भन्छन्, यस किसिमको प्रतियोगिताले नेपालमा रेस कल्चरको विकास गर्न र नेपाली धावकहरूलाई अन्तराष्ट्रिय स्तरमा प्रतिष्ठित ट्रेल रेसमा प्रतिष्पर्धा गर्नका लागि योग्य बन्न अभिप्रेरित गर्छ।

विश्वमै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए। त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रुट छिचोले। जिमि ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटक पटक गरी ट्रेलको वैकल्पिक रूटहरू सहित नक्साङ्कन गरेका थिए। विभिन्न चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रूट पूर्णरूपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो।

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्यांकन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ ।