विश्व

विश्वकप क्रिकेट : भारतको उच्च लय कायमै, नेदरल्याण्ड्स विरुद्ध सानदार जित

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणका सबै खेल सकिएका छन् । आइतबार सम्पन्न भारत र नेदरल्याण्ड्सको खेलसँगै लिग चरणका ४५ वटै खेल सकिएको छ। लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्समाथि १६० रनको फराकिलो जित हात पार्‍यो। टस जितेर ब्याटिङ रोजेको भारतले पूरा ओभर खेलेर ४ विकेट गुमाउँदै ४१० रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेदरल्याण्ड्स ४७.४ ओभरमा २५० रन बनाएर अल आउट भयो ।

भारतको जितमा केएल राहुल र श्रीयास ऐयरले शतक प्रहार गरे भने रोहित शर्मा शुभमन गिल र विराट कोहलीले अर्धशतक बनाए । जवाफमा नेदरल्याण्ड्सका तेजा निदामनुरूले ५४ रनको अर्धशतकीय पारी खेले। सिब्राण्ड एंगलब्रेक्टले ४५ रन, कोलिन एकरमनले ३५ रन बनाए । नेदरल्याण्ड्सलाई सस्तोमा समेट्न भारतका जस्प्रित बुमरा, मोहम्मद सिराज, कुलदिप यादव र रविन्द्र जडेजा २र२ विकेट लिए। रोहित शर्मा र विराट कोहलीले पनि एक–एक विकेट लिए।


यसपालिको विश्वकपमा उच्च लयमा देखिएको भारत लिग चरणका सबै खेलहरूमा अपराजित रह्यो। भारत ९ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। भारतसँगै दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्याण्ड नक आउट चरणमा प्रवेश गरेको छ। दक्षिण अफ्रिकाले ९ खेलमध्ये ७ खेल जितेको थियो। अष्ट्रेलियाले ७ र न्युजिल्याण्डले ५ खेल जित्दै नकआउट पुगेका हुन्।

४ खेलमात्रै जितेको पाकिस्तान लिग चरणबाट बाहिरिएको छ। नकआउट चरणमा शीर्ष स्थानमा रहेको टोलीले चौथो स्थानमा रहेको टिमसँग तथा दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच प्रतिस्पर्धा हुनेछ। नकआउट चरणका खेल बुधबारबाट सुरू हुनेछ। बुधबार पहिलो स्थानमा रहेको भारतले चौथो स्थानको न्युजिल्याण्डसँग खेल्नेछ। बिहीबार दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच दोस्रो सेमिफाइनल हुनेछ। सेमिफाइनलमा जित्ने दुई टिमले एकदिवसीय विश्वकपको उपाधिका लागि खेल्नेछ। फाइनल खेल मंसिर ३ गते आइतबार हुनेछ।