समाचार

प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–दुबई व्यवसायिक सम्मलेन यूएईमा हुने

काठमाडौं । नेपाल–दुबई व्यावसायिक सम्मेलन १४ मंसिर बिहीबारका दिन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बर अफ कमर्सको आयोजनामा हुने व्यावसायिक सम्मेलनमा मुख्य अतिथि प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड रहने भएका छन् । व्यावसायिक सम्मेलन यूूएईस्थित नेपाली राजदूतावासको सहयोग एवम् सहकार्यमा हुन लागेको हो । सम्मेलनमा दुवै देशका करिब १ सय जना उद्यमी व्यवसायीको उपस्थिति रहने छ ।

सम्मेलनमा दुवै देश बीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन एवम् श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुने महासंघले जनाएको छ । व्यवसायिक सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवम् नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरुमा निर्यात प्रवर्द्धनमा सहयोग पुुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरे ।

सम्मेलनबाट ऊर्जा एवम् पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास गरिएको उनले बताए । महासंघले प्रधानमन्त्रीको उपस्थितिमा यसअघि भारत र चीनमा पनि व्यावसायिक सम्मेलनको आयोजना गरिसकेको छ । महासंघका अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले १५ र १६ मंसिरमा अबुधाबीमा आयोजना हुने जलवायु सम्बन्धी विश्व सम्मेलन कोप–२८ मा भाग लिने कार्यक्रम समेत रहेको छ ।