स्वास्थ्य

काठमाडौं महानगरमा २७ मंसिरबाट प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकामा मंसिर २७ देखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध हुने भएको छ । महानगरको स्वास्थ्य विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो। महानगरले सूचना जारी भएको १५ दिनभित्र प्लास्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग लगायतका सुर्तीजन्य पदार्थ र सार्वजनिक स्थानमा धूमपान निषेध गर्ने भनेको छ। यो सूचना अवज्ञा गरी बिक्री गरेको पाइए महानगर प्रहरीमार्फत् जफत गर्ने र व्यवसायीलाई कानुनबमोजिम अधिकतम सजाय गर्ने पनि भनिएको छ।

सूचनामा महानगर क्षेत्रभित्र बिक्री निषेध गरिएको भनिए पनि कुन-कुन ठाउँमा निषेध गरिएको हो भनेर खुलाइएको छैन। त्यस्तै, सार्वजनिक स्थानमा धूमपान निषेध गरिएको भनिए ती स्थान कुन(कुन हुन् भन्ने किटान गरिएको छैन। सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा जारी भएको ऐनले सार्वजनिक स्थल किटान गरेको छ।

शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालयहरू, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालय लगायत स्थलमा धूमपान, चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा लगायत सुर्तीजन्य पदार्थ प्रयोग निषेध गरिएको कानुनमा उल्लेख छ।
महानगरको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले २९औं महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानि पुर्‍याउने सुर्तीजन्य वस्तुको बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेको बताएका छन्। महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा पनि सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने व्यवस्था रहेको उनले बताए।

उक्त ऐेनले बिक्री वितरणका लागि खुला क्षेत्र तोक्न सक्ने, बालबालिकालाई बिक्री गर्न नपाउने, सार्वजनिक स्थलको चार किल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जंक फुड बिक्री गर्न निषेध गर्न सकिने व्यवस्था पनि गरेको छ। सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्था कडाइसाथ कार्यान्वयन गर्न लागिएको हो,’ उनले भने। दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने उनले बताए।