समाचार

ताइवानका नयाँ राष्ट्रपतिलाई बधाई दिएपछि अमेरिकासँग रिसायो चीन

GETTY IMAGES\BBC

काठमाडौं । ताइवानको राष्ट्रपतिमा निर्वाचित विलियम लाईलाई बधाई दिएपछि अमेरिकासँग चीन रिसाएको छ । अमेरिकाको यस्तो कदमले यो टापुको स्वतन्त्रताका लागि वकालत गरिरहेकाहरूमाझ गलत सन्देश गएको चीनले बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बधाई दिन जारी गरेको वक्तव्यले ताइवानसँग अनौपचारिक सम्बन्ध मात्रै कायम राख्ने वासिङ्टनको प्रतिबद्धता उल्लङ्घन गरेको समेत बेइजिङको टिप्पणी छ।

बेइजिङले यस विषयमा औपचारिक कूटनीतिक विरोध गरिएको जनाएको छ। ताइवानलाई चीनको हस्तक्षेपबाट मुक्त गर्ने र देशको प्रजातान्त्रिक पद्धतिलाई संरक्षण गर्ने वाचा गरेका विलियम लाईलाई विश्वभरिका नेताहरूले बधाई दिइरहेका छन्।

चीनले भने उनको विजयलाई स्वीकार गरेको छैन र स्वशासित हैसियतमा रहेको यो टापु आफ्नै भूभागको हिस्सा रहेको दोहोर्‍याएको छ। लाईले आफ्ना दुई प्रतिद्वन्द्वीलाई सहजै हराएका छन् । ताइवानका मतदाताहरूले उक्त टापुको सार्वभौमसत्ताको पक्षधर रहेका उम्मेदवार विलियम लाईलाई एउटा ऐतिहासिक निर्वाचनमा राष्ट्रपतिका रूपमा चुनेका छन् । उक्त मतलाई चीनभन्दा पृथक् धारणा राखेको अर्थ लगाइएको छ। त्यसप्रति आक्रोश व्यक्त गर्दै बेइजिङले एउटा विज्ञप्ति जारी गरेको छ जसमा “ताइवान चीनको हिस्सा रहेको” अडान व्यक्त गरिएको छ।

बेइजिङले “शान्तिपूर्ण पुनःएकिकरण” को कुरा उठाउने गरेको भए पनि उसले बल प्रयोग गर्ने विषयलाई पनि नकारेको छैन। त्यसले ताइवानको निर्वाचनलाई “युद्ध वा शान्ति”बीचको रोजाइका रूपमा हेरिएको थियो। हालैका महिनाहरूमा चीनले उक्त प्रायद्वीप वरपर सैनिक उपस्थिति वृद्धि गरेको छ जसले सम्भावित द्वन्द्वको भय बढाएको छ।

बेइजिङको कम्युनिस्ट सरकारले ताइवानमा आठ वर्ष शासन गरेको लाईको स्वतन्त्रता पक्षधर डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)लाई निन्दा गर्छ।आफ्नो दलले अभूतपूर्व तेस्रो कार्यकाल राष्ट्रपति चुनाव जितेपछि लाईले नयाँ कीर्तिमान रचेका छन्। विपक्षीहरूले पराजय स्वीकार गरेपछि उनले अब पछाडि फर्किने बाटो नरहेको सङ्केत गरे।