समाचार

प्यालेस्टिनी राज्य स्थापना गर्ने अमेरिकी प्रस्तावमा इजरायल असहमत

काठमाडौं । गाजामा द्वन्द्व सकिएपछि प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाले गरेको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसको पुष्टी गरेका छन् । बीबीसीका अनुसार उनले एउटा पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले “पूर्ण विजय प्राप्त नगरुन्जेल” गाजामा आक्रमण जारी राख्ने समेत बताए। उनले गाजामा “अझै धेरै महिना” लडाइँ लम्बिन सक्ने भन्दै हमासको अन्त्य र बाँकी रहेका इजरेली बन्धकहरूलाई फिर्ता नल्याउन्जेल त्यो जारी रहने बताए। हमासद्वारा सञ्चालित अस्पतालका अनुसार गाजामा अहिलेसम्म झन्डै २५,००० प्यालेस्टिनीको ज्यान गइसकेको छ भने झन्डै ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ।

गाजामा जारी सैन्य कारबाही रोकेर दिगो रूपमा युद्ध अन्त्य गर्नलागि अर्थपूर्ण वार्ता सुरु गर्ने दबाव इजरेलले खेप्नुपरेको छ। अमेरिकासहित इजरेलका सहयोगी राष्ट्र र विपक्षी राष्ट्रहरूले पनि लामो समयदेखि निस्क्रिय रहेको “दुई राज्यकोू अवधारणा बिउँताउन आग्रह गरेका छन्। उक्त प्रस्तावअनुसार इजरेल र प्यालेस्टाइन सँगसँगै अवस्थित दुई राष्ट्र हुने छन्। धेरैले वर्तमान सङ्कटले युद्धरत पक्षलाई हिंसाको अन्त्यहीन चक्र समाप्त पार्न एउटा व्यावहारिक विकल्पको रूपमा कूटनीतिक पहल फेरि थाल्न बाध्य पार्न सक्ने आशा गरेका छन्।

तर नेतन्याहूको टिप्पणीले उनको उद्देश्य त्यसविपरीत रहेको देखाएको छ। उनको पछिल्लो टिप्पणीपछि पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले अमेरिका र इजरेलले विषयहरूलाई निश्चय पनि फरक दृष्टिले हेर्ने बताए। यसअघि बिहीवार नेतन्याहूले इजरेलले जोर्डन नदीको पश्चिममा अवस्थित सबै भूभागमा सुरक्षा नियन्त्रण हुनुपर्छ भनेका थिए। भविष्यमा कुनै पनि बेला प्यालेस्टिनी राज्यको भूभागमा त्यस्तो नियन्त्रण हुन सक्ने छ।