बिचार

के हो राम मन्दिर बिबाद ? के हो धर्म ?

योगेश आदी, न्युयोर्क

कतिलाई लाग्दै होला कि हरेक दिन मन्दिर मस्जिद चर्च सिनेगाग गुम्बामा आआफ्ना आस्थाकृत भगवानको प्रतिमूर्तिको प्राण प्रतिष्ठा भइनै राखेका हुन्छन् तर यतिबेला अयोध्यामा हुन गइरहेको राम मन्दिरको चर्चा चाहिँ किन यति धेरै ?
अर्को पक्षलाई लाग्दै होला कि मोदीको यही बर्षान्तमा हुने चुनावी चाल । केहीलाई लाग्दै होला अतिबादी हिन्दुको धार्मिक आशक्ति । एकाथरी सोच्दै होला अनावश्यक धार्मिक चर्चा ।
जसले जसरी पनि सोच्न बुझ्न पाइयो यद्यपि अलिकति बुझेर पुनर्विचार गर्दा तथ्यको नजदिक पुग्न अलि सजिलो हुन्छ ।

छोटकरीमा भन्नु पर्दा; करिब ४९६ बर्षअघि हालको उत्तर प्रदेश भारतको घाघरा नदि किनारस्थित अयोध्यामा अवस्थित राम मन्दिर तात्कालिन मुगल बादशाह बाबर खानले भत्काएर सोही स्थानमा आफ्नै नामबाट बाबरी मस्जिद बनाएपछि हिन्दु मुस्लिम बिबाद शुरु भएको हो । अंग्रेजको इष्ट इण्डिया कम्पनीले सन् १८५८ मा भारतमा कब्जा नजमाउन्जेलसम्म हिन्दुको आवाज दबाइयो । बीचमा दुबैतर्फका धेरै रगत बगे । अंग्रेजले पनि सन् १९४७ मा भारत स्वतन्त्र हुनु अघिसम्म सो मुद्दामा सुनुवाई गरेन ।

तत्पश्चात सयौं मुस्लिम धर्मगुरुले बाबरी मस्जिद भएको स्थानमा मन्दिर भएतापनि अतिबादीको डरले सो स्थान सुम्पिन सकेन । अदालतमा सयौं बर्ष मुद्दा चल्यो । दुबै धर्म समर्थक पुरातत्वबिदको उत्खननले हिन्दुको दाबी पटक पटक पुष्टि गर्यो तर पुन: मन्दिर बन्न सकेको थिएन । अन्तत: सन् २०१९ को नोभेम्बरमा भारतको सर्बोच्च अदालतले मन्दिर बनाउने अनुमति प्रदान गरेपछि राममन्दिर पुनर्स्थापनको कार्य शुरु भएको थियो।

सन् २०१४ मा मोदी आएपछि सो मुद्दाले चासो पाउनु, युपिका मुख्यमन्त्री आदित्य नाथ हिन्दुबादी हुनु तथा यसैबर्ष चुनाव परेकोले २०२५ मा सकिने लक्ष राखेको मन्दिरको प्राण प्रतिष्ठा अहिले नै गरिनुले राजनीति जोडिएको भनेर केही हिन्दु धर्मगुरु बेखुस देखिएपनि संसारभरका अन्य धर्मगुरुहरुले समेत सत्यको जीत मानिसकेको परिप्रेक्ष देखिन्छ ।

मेरो लागि भने धर्म अनुशासन र डर पैदा गर्ने माध्याम भएकोले अपरिहार्य छ । धर्म मानवको अस्तित्व धर्तिमा रहुन्जेल रहने निश्चित भइसकेकोले म मन्दिरमा कृतन गरेर बस्ने समुहमा नभएपनि कर्म र फलसँग जोडिएको ‘कर्मा’ लाई अनुशरण गर्दछु र गर्दा हुन्छ भन्छु । धर्मले दाल भात तरकारी नदिएपनि सत्कर्म गरेर दाल भात तरकारी जुटाउनु पर्छ भनेर सिकाउँछ । खोसेर होइन सकेसम्म बाँडेर खानुपर्छ भन्ने सिकाउँछ । सहअतित्वमा दाल भात तरकारी जस्ता खानाहरुलाई सम्मान गर्न सिकाउँछ ।

त्यसैले जसले जुन धर्ममा आस्था राखेपनि धर्मको रक्षा गर्नुपर्छ ।
‘धर्मो रक्षति रक्षित:’ को अर्थ हुन्छ; ‘जसले धर्मको रक्षा गर्छ, धर्मले उसैको रक्षा गर्छ’। धर्म भनेको सत्कर्म हो । सत्कर्म भनेको सत्य कर्म र परोपकार हो । परोपकार भनेको नै ‘पुण्य कर्म’ हो । अरुलाई दु:ख दिनु नै पाप हो । महर्षि बेदव्यासले अठारौं पुराणमा लेखेको छन्; “परोपकार: पुण्याय पापाय परपीडनम्”