विज्ञान प्रविधि

नेपालीले चलाएको कम्पनी अमेरिकी स्टक एक्सचेन्जमा सूचिकृत हुँदै

काठमाडौं । कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टलिजेन्स (एआई) क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमीले सञ्चालन गरिरहेको कम्पनी फ्युज मेसिन अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने भएको छ । सन् २०१३ मा नेपाली व्यवसायी डा। समीर मास्केले सुरु गरेको यो कम्पनी विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी हुने भएको छ ।

अमेरिकामा मुख्यालय रहेको फ्युज मेसिनले नेपाल, डोमिनिक रिपब्लिकलगायतका देशमा कार्यालय स्थापना गरी कार्य गरिरहेको छ । नास्डाकमा सूचीकृत हुने लक्ष्यसहित फ्यूज मेसिन र सीएसएलएम एक्विजिसन कम्पनीबीच मर्जर सम्झौता भएको छ । सीएसएलएम नास्डाकमा सूचीकृत भई कारोबार गरिरहेको कम्पनी हो ।

सम्झौतापछि फ्युज मेसिनले चालु पुँजी प्रयोजनका लागि सीएसएलएमबाट झण्डै २ करोड अमेरिकी डलर लगानी प्राप्त गर्ने छ । फ्यूज मेसिनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मास्केले सो रकमले नयाँ प्रोडक्ट विकास गर्न सहयोग पुग्ने बताएका छन् । फ्यूज मेसिनको कुल मूल्याङ्कन २ सय मिलियन अमेरिकी डलर (२५ अर्ब रुपैयाँ) हुने गरी नयाँ कम्पनी मर्जरको सम्झौता भएको डा. समीर मास्केले बताएका छन् ।

सन् २०२४ को दोस्रो त्रैमासको अन्त्यसम्ममा नास्डाकमा सूचीकृत हुनेगरी मर्जर सम्झौतालाई अगाडि बढाइएको दुवै कम्पनीले जनाएका छन् । काठमाडौंमा जन्मिएका डा। मास्केले अमेरिकी विश्वविद्यालयबाट उच्च शिक्षा हाँसिल गरी आर्टिफिसियल इन्टलिजेन्सका क्षेत्रमा काम गर्दै आएका थिए ।

उनी कोलम्बिया विश्वविद्यालयका एसोसिएट प्रोफेसरसमेत रहेका छन् । नास्डाकमा सूचीकृत हुनु आफ्नो कम्पनीका लागि ठूलो कोसेढुंगा भएको बताउँदै मास्केले नेपाली मूलको कम्पनी सूचीकृत हुनु आफैंमा ऐतिहासिक समेत भएको बताए ।