समाचार

गगन थापाले हुलाकी राजमार्ग वरपर संवाद यात्रा गर्दै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने भएका छन् । माघ १३ देखि २६ सम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म यात्रा गर्न लागेका हुन् । यात्रा १३ माघमा झापाको छोटी भन्सारबाट सुरु हुने थापाले जानकारी दिए । १२ माघदेखि कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गर्दैछ । त्यही अभियान अन्तर्गत आफूले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा गर्न लागेको उनको भनाइ छ ।

संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम गर्ने महामन्त्री थापाको तयारी छ । उनले संवाद यात्रामा औपचारिक कार्यक्रम नगर्ने बताएका छन् । सबैजसो कार्यक्रम वडा स्तरमा आयोजना हुने र कांग्रेसको वडा तहले संयोजन गर्ने थापाले बताए । थापाले संवाद यात्राको कार्यक्रम विहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ ।