समाचार

काठमाडौंमा बिहीबार सिजनकै कम तापक्रम

काठमाडौं । काठमाडौंमा बिहीबार यस सिजनकै कम तापक्रम मापन भएको छ । काठमाडौंमा न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।

यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो । यसअघि यही माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो । शुक्रबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । माथिल्लो तहमा चिसो बादल आएकाले मौसम पनि चिसिएको छ । त्यसैले अघिल्ला दिनको तुलनामा जाडो झन् बढेको छ ।

यद्यपि लामो समयदेखि हिउँदे वर्षा नभएकाले यो वर्ष अघिल्ला वर्षहरुको तुलनामा कम जाडो छ । यदि पानी पर्ने हो भने काठमाडौंको न्यूनतम तापक्रम घटेर जाडो झन् बढ्न सक्ने मौसमविदहरु बताउँछन् । २०७५ साल पुसमा काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको थियो । सन् १९७८ मा भने काठमाडौंको न्यूनतम तापक्रम माइनससम्म पुगेको रेकर्ड छ ।