विश्व

टर्की र अमेरिकाबीच 'विग डिल', २३ अर्ब डलरमा लडाकु विमान किनबेचको सहमति

काठमाडौं । टर्की र अमेरिकाबीच २३ अर्ब डबर बराबरका लडाकु विमान किनबेच गर्ने सहमति भएको छ । स्वीडेनलाई नेटोको सदस्यता अनुमोदन गर्ने निर्णय गरेसँगै अमेरिका र टर्कीबीच लडाकु विमान खरिदको सम्झौता भएको हो । टर्कीले चार वर्षदेखि अमेरिकासँग अत्याधुनिक सैन्य विमान खरिद गर्ने योजना बनाए पनि अमेरिकाले स्वीडेनलाई नेटोको सदस्य बन्ने बाटो खोलिदिनुपर्ने सर्त राखेको थियो। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटोमा स्वीडेनको सदस्यतालाई अनुमोदन गरेसँगै अमेरिकी सरकारले टर्कीलाई ४० वटा नयाँ एफ–१६ लडाकु विमान बेच्ने सम्झौतालाई अनुमोदन गरेको हो ।

यो सम्झौता २३ अर्ब डलरको छ । यस्तै, टर्कीमा रहेका ७९ वटा एफ–१६ विमानको आधुनिकीकरणको पनि सम्झौता भएको छ । टर्कीले सन् २०२१ देखि नै नयाँ लडाकु जहाज खरिद र पुरानाको आधुनिकीकरणको लागि अमेरिकासँग आग्रह गर्दै आएको थियो । तर रुस वरपरका देशलाई नेटो देशका सदस्य बनाएर घेर्ने रणनीति लिएको अमेरिकाले स्वीडेनलाई नेटोको सदस्यता दिनुपर्ने सर्त राख्दै आएको थियो ।

टर्कीलाई टुक्राउने मागसहित हतियारसहितको विद्रोह गरेका कुर्दिस लडाकुलाई स्वीडेनले आश्रय दिएको टर्कीको आरोप थियो । अब टर्कीले स्वीकृति दिए पनि स्वीडेनलाई नेटोको सदस्यता बन्ने प्रस्तावलाई हङ्गेरीले भने स्वीकृति दिएको छैन । नयाँ सदस्यताको लागि नेटोका सबै देशको स्वीकृति चाहिन्छ । अहिले नेटोमा ३१ देश सदस्य छन् । यसअघि टर्कीले फिनल्याण्डलाई पनि नेटोको सदस्य बन्न रोकेकोमा गएको वर्ष स्वीकृति दिएको थियो ।

नेटोका कुनै एक सदस्यमाथि कतैबाट हमला भएमा सबै राष्ट्र मिलेर प्रत्याक्रमण गर्नुपर्ने नियम छ। युक्रेनले पनि लामो समयदेखि नेटोको सदस्य बन्न आवेदन दिइरहेको छ, तर युक्रेनले नेटोको सदस्यता पाएमा ३१ वटै देश रुससँग लड्नुपर्ने जोखिम देखेर सदस्यता दिएका छैनन ।