विज्ञान प्रविधि

न्युरालिंकले पहिलो पटक मानव मस्तिष्कमा चिप राखेको मस्कले गरे घोषणा

काठमाडौं । न्युरालिंङले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको घोषणा गरेको छ । मस्क फाउन्डेसनका अध्यक्ष एवम् न्युरालिंकका सह-संस्थापक एलन मस्कले सोमबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै यस विषयको दाबी गरेका हुन्। उनले एक्समा लेखेका छन्, पहिलो व्यक्तिले हिजो न्युरोलिंकबाट प्रत्यारोपण प्राप्त गरेका छन् र उनको स्वास्थमा सुधार देखिँदैछ। न्युरालिंकले गत वर्ष मात्रै मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्न खाद्य तथा औषधि प्रशासन (एफडिए) बाट स्वीकृति पाएको थियो। कम्पनीले गत सेप्टेम्बरमा अनुमति पाएको बताएको थियो।

सन् २०१६ मा सञ्चालित न्युरालिंक एक हेल्थ (स्वास्थसम्बन्धी) टेक कम्पनी हो। मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नु यसको मुख्य उद्देश्य हो।
न्युरालिंकका अनुसार मस्तिष्कको क्षेत्रमा ब्रेन(कम्प्युटर इन्टरफेस (बिसिआई) प्रत्यारोपणका लागि रोबोटको प्रयोग गर्छ। मानिसहरूलाई आफ्नो विचार कै भरमा कम्प्युटर कर्सर वा किबोर्ड नियन्त्रण गर्न सक्षम पार्नु यसको प्रारम्भिक लक्ष्य हो।

न्युरालिंकको पहिलो उत्पादनलाई टेलिप्याथी भनिने मस्कले बताएका छन्। टेलिप्याथी एक वायरलेस ब्रेन चिप (कुनै पनि तारबिनाको मस्तिष्कमा राख्न तयार पारिएको चिप) हो।

न्युरालिंकका अनुसार कम्पनीले यस्तो मस्तिष्क चिप तयार पारेको जसको प्रयोगमा आँखा नदेख्ने व्यक्तिले आँखा देख्न सक्छन्। त्यस्तै शरीरको कुनै भागहरू नचलेको व्यक्तिले सो भाग चलाउन सक्छन्। चिपमार्फत् कुनै पनि व्यक्तिको दिमाग कम्प्युटरसँग जोडिन्छ। र, यसलाई कम्प्युटर वा मोबाइल फोनबाट कन्ट्रोल गर्न सकिन्छ। मस्कले गत मंसिरमा मात्रै आगामी ६ महिनाभित्र मानव मस्तिष्कमा कम्प्युटर चिप परीक्षण गर्ने घोषणा गरेका थिए।