समाचार

अमेरिकाले इराक र सिरियाका ८५ स्थानमा गर्यो हवाई हमला

US MILITARY CENTRAL COMMAND

काठमाडौं । अमेरिकाले इराक र सिरियामा ‘इरानसँग सम्बन्ध भएका’ भन्दै ८५ स्थानमा हवाई हमला गरेको छ। पेन्टागनले इरान समर्थित लडाकुहरूले गत आइतवार जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा गरेको हमलाको बदलामा यो आक्रमण गरिएको पुष्टि गरेको छ। उक्त हमलामा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो भने अन्य कैयौँ घाइते भएका थिए।

अमेरिकाले इरानसँग द्वन्द्व नचाहेको दोहोर्‍याएको छ। यद्यपि राष्ट्रपति जो बाइडनले यस्ता आक्रमण जारी रहने चेतावनी दिएका छन्। गत आइतवार जोर्डनस्थित टावर-२२ भनिने अमेरिकी सैन्य आधार शिविरमा ड्रोन आक्रमण हुँदा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो

इरानको कुड्स फौज र त्यससँग सम्बन्ध भएको भनिएका मिलिसिया समूहहरूसँग सम्बन्धित नियन्त्रण केन्द्रहरू लक्षित आक्रमण भएको बताइएको छ। सिरियाबाट प्राप्त विवरणअनुसार त्यहाँ २० जनाभन्दा धेरै इरानपक्षधर लडाकुको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन्। त्यहाँको सेनाले सर्वसाधारणहरू समेत मारिएको जनाएको छ। इराक सरकारले आफ्नो भूमिमा भएको आक्रमणलाई इराकी सार्वभौमसत्ताको उल्लङ्घन भनेको छ। उसले सर्वसाधारणसहित कम्तीमा १६ जना मारिएको जनाएको छ।

इराकी प्रधानमन्त्रीले आफ्नो सरकारसँगको समन्वय गरेर ती हमला नगरिएको बताएका छन्। इराक सरकारले सो हमलाको उक्त क्षेत्रमा ूभयानक नतिजाू देखा पर्ने चेतावनी दिएको छ। इरानले आफूमाथि लागेका सबै आरोपहरूलाई ूआधारहीनू भन्दै हमलाको निन्दा गर्ने क्रममा त्यसलाई ूरणनीतिक भूलू बताएको छ।
शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, हाम्रो प्रतिक्रिया आजबाट सुरु भयो। यो हामीले चाहेको समय र स्थानमा जारी रहनेछ। गत आइतवार जोर्डनस्थित टावर(२२ भनिने अमेरिकी सैन्य आधार शिविरमा ड्रोन आक्रमण हुँदा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो।

त्यहाँ ४० जनाभन्दा बढी सैनिकहरू घाइते भएका थिए। उक्त घटनाका लागि ह्वाइट हाउसले इरानलाई जिम्मेवार ठानेको छ र उसले त्यसको कडा प्रतिक्रिया दिने वाचा गरेको छ। इराक र सिरियामा गरिएका हवाई हमलाहरूमा कैयौँ अमेरिकी लडाकु विमानहरू संलग्न भएका छन्। त्यसमा लामो दूरीका बमवर्षक विमान पनि रहेको बताइएको छ।

हालसम्म सिरियाका चार र इराकका तीन गरी सात स्थानमा आक्रमण भएको र ८५ वटा भन्दा बढी लक्ष्यहरूमा प्रहार गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकाको हमलाप्रति पहिलो प्रतिक्रिया इराकी सरकारबाट आएको छ।

इराकी प्रधानमन्त्रीका सैन्य प्रवक्ताले इराकी भूमिमा अमेरिकी बमबारीको निन्दा गर्दै सामाजिक सञ्जालमा एउटा विज्ञप्ति पोस्ट गरेका छन्। यी आक्रमणहरू इराकी सार्वभौमसत्ताको उल्लङ्घन, इराकी सरकारको प्रयासलाई कमजोर पार्ने काम र इराक तथा यो क्षेत्रलाई अप्रत्याशित परिणामहरूमा तान्ने खतरा हुन्, विज्ञप्तिमा भनिएको छ।