विश्व

जाकार्ता डुब्ने भयसँगै राजधानी सार्ने इन्डोनेशियाको योजना कहाँ पुग्यो ?

BBC

काठमाडौं । इन्डोनेशियाको राजधानीलाई जाकार्ताबाट नुसन्तारामा सार्ने महात्वाकांक्षी योजना अन्तर्गतका काममा ढिलाइ भएको छ । सन् २०२४ मा राजधानी सारिसक्ने निर्णय सरकारले गरे पनि काम पूरा नहुने संकेत देखिएको छ । राष्ट्रपति जोको बिडोडोले राजधानी सार्ने घोषणा सन् २०१९ मै गरेका थिए । त्यसका लागि सन् २०२२ मा एक कानुन पारित गरिएको थियो । त्यसपछि भौतिक पूर्वाधार निर्माणका काम जारी छ । यसबीचमा राष्ट्रपति चुनाव नजिकिएको र निर्माणका धेरै काम बाँकी नै भएकाले सन् २०२४ मा राजधानी सार्ने काम सकिनेमा शंका छ ।

इन्डोनेसियाको राष्ट्रिय अनुसन्धान केन्द्रका राजनीति शास्त्र विभाग प्रमुख डाक्टर अतिका नूर अलामीका अनुसार सन् १९४५ देखि जाकार्ता देशको राजधानी बनेको हो । त्यतिबेलादेखि नै राजधानी सार्ने बहस सुरु भएको थियो । यो बहस चलेको आठ दशक भइसकेको छ । उनले बीबीसीलाई बताएअनुसार इन्डोनेसियाका पहिलो राष्ट्रपति डाक्टर सुकर्णोको पालादेखि नै राजधानी सार्ने चर्चा सुरु भएको थियो । राष्ट्रपति सुकर्णोले पलंगकराया शहरमा राजधानी सार्ने सम्भावनाबारे सोचेका थिए । उनीपछि राष्ट्रपति सुहार्तोले जाकार्ताकै नजिक राजधानीका लागि नयाँ शहर बसाउन चाहन्थे । सन् २०१९ मा भने राष्ट्रपति बिडोडोले राजधानी सार्ने औपचारिक घोषणा नै गरे ।

६६१.२३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको जाकार्तामा एक करोड १० लाखभन्दा बढी मानिसहरुको बसोबास रहेको बीबीसीले जनाएको छ । जाभा द्वीपमा पर्ने जाकार्ता विश्वकै बढी जनघनत्व भएको शहरहरुमध्ये एक हो । यहाँ ट्राफिक जाम, वायु र जल प्रदूषण जस्ता पर्यावरणीय समस्या छन् । नदीको पानी प्रदूषित छ भने मानिसहरुमा बिरामीको दर बढेको छ । समुद्रको जलस्तर बढ्दै जाँदा बाढी र डुबानको समस्या पनि छ । बीबीसीका अनुसार समुद्रको जलस्तर बढेकाले जाकार्ता हरेक वर्ष १७ सेन्टिमिटर डुब्दै गएको छ जुन अत्यन्त चिन्ताजनक छ ।

त्यसैले इन्डोनेसियाको राष्ट्रिय अनुसन्धान केन्द्रका राजनीति शास्त्र विभाग प्रमुख डाक्टर अतिका नूर अलामी भन्छन्, ‘जाकार्ताबाट राजधानी सार्ने निर्णय सही छ । किनभने जाकार्तामा बोझ बढी भइसकेको छ ।’ नयाँ राजधानी बसाउन लागिएको नुसन्ताराको क्षेत्रफल जाकार्ताकोभन्दा बढी छ । नुसन्तारा २ हजार ५६१ वर्गकिलोमिटरमा फैलिएको छ । पूर्वी कालिमन्तान क्षेत्रको बोर्नियो द्वीपमा पर्ने नुसन्तारा जाकार्ताबाट करिब दुई हजार किलोमिटर टाढा छ ।

त्यहाँ व्यवस्थित राजधानी शहर बसाउन ३५ अर्ब डलर खर्च हुने अनुमान छ । यो महात्वाकांक्षी योजनालाई ‘गोल्डेन इन्डोनेसिया २०४५’ नाम दिइएको छ । किनभने राष्ट्रपति बिडोडोले सन् २०४५ भित्र इन्डोनेसियालाई विश्वको पाँचौं ठूलो अर्थव्यवस्था भएको देश बनाउने उद्देश्य लिएका छन् । अन्य द्वीपमा पनि आर्थिक गतिविधि बढोस् र विकास पनि होस् भन्ने चाहना सरकारको छ । त्यसैले राष्ट्रपति बिडोडोले जाकार्ताबाट राजधानी सार्ने निर्णय गरेको बीबीसीले जनाएको छ । यसबाट जाभा द्वीप केन्द्रित सोच हट्ने छ ।

नयाँ राजधानी शहर बसाउनका लागि ३५ अर्ब डलर खर्च हुने अनुमान छ । त्यसमा इन्डोनेसिया सरकारको लगानी १९ प्रतिशत हुने छ । बाँकी रकम विदेशी सहयोगबाट जुटाइने छ । नुसन्तारा पनि प्रायद्वीप भएकाले बाढी र डुबानको जोखिम छ । त्यसैले शहर निर्माणको क्रममा सबैभन्दा पहिले यहाँ बाँध बनाउने कामलाई प्राथमिकता दिइएको छ ।

शहर सार्ने योजना पाँच चरणमा पूरा गर्ने लक्ष्य छ । पहिलो चरणको पाँच वर्ष सन् २०२४ मा समाप्त हुने छ । यो चरणमा राष्ट्रपति निवासदेखि प्रमुख सरकारी कार्यालय, प्रशासनिक कार्यालय, अस्पताल र राजधानीमा काम गर्नेहरुका लागि आवासीय भवन बनाउने काम जारी छ । विमानस्थल र राष्ट्रिय राजमार्ग पनि बन्ने क्रममा छन् । यो कामका लागि करिब दुई लाख श्रमिकलाई खटाइएको र ४० प्रतिशत काम पूरा भएको बीबीसीले जनाएको छ ।

पहिलो चरणको बाँकी काम आगामी वर्षको अन्त्यतिर सकिने अनुमान गरिएको इण्डोनेसियाको ब्राविजया युनिभर्सिटीका शहरी तथा क्षेत्रीय योजना विभागका सहायक प्रोफेसर दिमास विष्णु अद्रियान्तेले बताएका छन् । आगामी चरणमा यातायात सन्जाल, स्वास्थ्य र शिक्षासँग सम्बन्धित काम हुनेछन् । अन्तिम चरण सन् २०४० देखि २०४५ सम्म हुने छ । यस चरणमा आवासीय क्षेत्रलाई विस्तार गरिने छ ।

सहायक प्रोफेसर दिमास विष्णु अद्रियान्तेका अनुसार सन् २०४५ सम्म २० लाख मानिस बस्न मिल्ने व्यवस्था भइसक्ने छ । मानिसहरुलाई नयाँ राजधानी शहरमा बसाउने काम धेरै चरण हुनेछन् । सबैभन्दा पहिले मन्त्रालयका कर्मचारीहरु आउने छन् । सन् २०३० देखि २०३५ को बीचमा सरकारी कर्मचारीका अलावा अन्य अनौपचारिक क्षेत्रमा काम गर्नेहरु पनि बस्न थाल्नेछन् । यसबीचमा विभिन्न कानुनहरु बनाउने काम पनि जारी रहने छ । किनभने राजधानी स्थानान्तरण गर्नुअघि जाकार्तालाई विशेष आर्थिक क्षेत्रको दर्जा दिइने छ ।