समाचार

विदेश पढ्न जानेसँगै विदेशियो ५८ अर्ब ४० करोड

काठमाडौं । पर्यटकबाट हुने भ्रमण आयभन्दा वैदेशिक अध्ययनमा जाने नेपालीले धेरै विदेशी मुद्रा लगेको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भ्रमण आय ३९ अर्ब ५६ करोड पुगेको छ । गत आव पहिलो ६ महिनामा २७ अर्ब ४० करोड रहेकोमा ४४.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्षको ६ महिनामै भ्रमण व्यय भने ९२ अर्ब ८७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये शिक्षातर्फ ५८ अर्ब ९५ करोड रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

गत आर्थिक वर्ष पहिलो ६ महिनामा भ्रमण व्यय ५७ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको व्यय ३५ अर्ब ३६ करोड थियो । गत वर्षको तुलनामा भ्रमण आय ४४.४ प्रतिशतले बढ्दा भ्रमण व्यय ६०.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । भ्रमण व्ययमा उच्च वृद्धि हुँदा पनि अन्य सेवा आयातमा बाहिरिने विदेशी मुद्रा घट्दा सेवा घाटा भने बढेको छैन । चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा खुद सेवा आय ३६ अर्ब ६ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आव सोही अवधिमा खुद सेवा आय ३६ अर्ब २२ करोडले घाटामा थियो ।