समाचार

विश्व बैंकको आयोजनामा आइडी सम्मेलन नेपालमा हुने

काठमाडौं । विश्व बैंक समूहको संस्था ‘आइडेन्टिफिकेसन फर डेभलपमेन्ट (आईडी)’ सम्मेलन नेपालमा हुने भएको छ । लगानी सम्मेलनको निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी गराएका छन् । उनका अनुसार आगामी जुन महिनामा यस्तो सम्मेलन हुने भएको हो । यसको औपचारिक पत्र केही दिनमा आउने समेत उनले बताए ।

यो अहिलेसम्म नेपालमा आयोजना हुने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने उनको भनाइ छ । सम्मेलनमा विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशको प्रतिनिधि सम्मेलनमा सहभागी रहने अर्थमन्त्री डा। महतले बताए । त्यो अगाडि अप्रिल २८–२९ (१६–१७ वैशाख) मा नेपालमा लगानी सम्मेलन हुँदैछ ।

लगानी सम्मेलनलाई उपलब्धिमूलक बनाउन सके नेपालमा बहुराष्ट्रिय कम्पनी मात्र होइन, निजी लगानी समेत बढ्ने सम्भावना रहेको उनले बताए । बैठकमा अर्थमन्त्री डा। महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको समेत बताए । उनले गम्भीर भएर परियोजनाको तयारी गर्न समेत निर्देशन दिए ।

‘लगानी आकर्षण गर्न हाम्रा लागि अभूतपूर्व अवसर छ, विदेशी लगानीकर्ताका साथै नेपाली लगानीकर्ता एवम् गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारमा सरकारले कुनै कसर बाँकी राख्ने छैन,’ अर्थमन्त्रीले भने । लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्‍याउन लगानी सम्मेलनको प्रमुख ध्येय रहेको अर्थमन्त्री महतको भनाइ थियो ।