समाचार

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता गर्ने प्रक्रिया सुरु

काठमाडौं । सिजी चाँदबाग रेसिडेन्सीको नाममा पुगेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु भएको छ । बिहीबार भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले चाँदवाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई म्याद बुझाएको छ ।

जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष ठाकुर, सञ्चालक अरुणकुमार चौधरी र तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापा बुधबार हाजिर जमानीमा रिहा भएका छन् ।

भूमिसुधार कार्यालय काठमाडौंका मालपोत अधिकृत बोगराज शर्मा कट्टेलका अनुसार कार्यालयका कर्मचारी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रतिनिधिले बिहीबार ग्रान्डी अस्पतालमा पुगी ठाकुरलाई बाटोको म्यादबाहेक २१ दिनभित्र उपस्थित हुन पत्र बुझाएका छन् । उनीहरुले ठाकुरलाई पत्र बुझाउँदा टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनाललाई रोहबरमा राखेका छन् ।

तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाले घाटामा गएको कारण देखाउँदै १३ भदौ २०४३ मा च्याम्पियन फुटवेयर प्रालिसँग प्रवद्र्धन सम्झौता गरेको थियो । सम्झौता अनुसार च्याम्पियनमा बाँसबारी छालाजुत्ता कारखानाको २५ प्रतिशत सेयर रहेको थियो । त्यसै अनुसार ५ भदौ २०४४ मा बाँसबारी छालाजुत्ता कारखानाको ६ रोपनी जग्गा प्रतिरोपनी २ लाख ५० हजार मूल्य कायम गरेर च्याम्पियन फुटवेयरको नाममा स्वामित्व हस्तान्तरण भएको थियो ।