समाचार

एसीसी वुमन्स प्रिमियर कप-२०२४ : नेपाल विजयी

(Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध ८ विकेटको जित निकालेको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा जितका लागि हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर १४.१ ओभरमै भेटायो । नेपालको जितका लागि कप्तान इन्दु बर्माले एक छक्का र तीन चौकासहित ४० रनको योगदान गरिन् । सीता रानामगर एक छक्का र एक चौकासहित ३६ रनमा अविजित रहिन् भने कविता कुँवरले ४ रन जोडिन् । बलिङतर्फ हङकङकी इक्रा सहर र चानका मन बेट्टीले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकलले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको थियो ।

हङकङकी कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् । मरियम बिबीले १९, यसमिन दसवानीले १५ र ओपनर नताशा माइल्सले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी रुविना क्षेत्र र कविता जोशीले समान दुईरदुई, पुजा महतो र सीता रानामगरले एक–एक विकेट लिए । १६ देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह डी मा छ । यस समूहमा हङकङ, भुटान र माल्दिभ्स छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल खेल्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् । सेमिफाइनल पुग्ने चार टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप २०२५ खेल्न पाउनेछन् ।