समाचार

लगातार दोस्रो खेलमा चम्किए कप्तान रोहित

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानडाविरुद्ध लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । क्यानडालाई दोस्रो ओडीआई खेलमा ४ विकेटले हराउन रोहितले अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् । रोहितले शनिबारको खेलमा दुई विकेट लिनुको साथै ब्याटिङमा १०१ बलमा ८ चौका र ४ छक्कासहित ८७ रनको योगदान दिएका थिए ।

पहिलो खेलमा क्यानडालाई ७ रनले हराउन रोहित पौडेलले ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडालाई रोहितले मध्यक्रमका दुई प्रमुख ब्याटर परगत सिंह ३८ र निकोलस किर्तोनको २० रनमा विकेट लिँदै २८५ रनमा रोक्न सफल भएका थिए । एक समय ३ सय रन सजिलै कटाउने देखिएपनि रोहितले नेपाललाई खेलमा फर्काएका थिए ।

जितको लागि २८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४१.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा रोहितपछि अनिलकुमार साहले २० बलमा ७ चौका र ३ छक्कासहित ५० तथा देव खनालले ८१ बलमा ७ चौका र २ छक्कासहित ७६ रनको योगदान दिएका थिए । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।