विश्व

यूरोपमा किन फैलिरहेको छ किसान आन्दोलन ?

Around 150 tractors massed in Orte, around one hour north of Rome © Andrea BERNARDI / AFP

काठमाडौं । फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका धेरै देशमा फैलिएको छ । फ्रान्ससहित इटली, पोल्यान्ड, स्पेन, बुल्गेरियालगायत देशमा किसानले प्रदर्शन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युरोपेली युनियनभन्दा बाहिरका देशबाट भइरहेको सस्तो आयातको विरूद्धमा उनीहरुले प्रदर्शन गरेको समाचारमा उल्लेख छ ।

इटलीमा शुक्रवार ट्र्याक्टरसहितका हजारौँ किसानले रोममा प्रदर्शन गरे । केही घण्टापछि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले वार्षिक १० हजार ८ सय अमेरिकी डलरसम्मको व्यक्तिगत आयकर छुट दिने घोषणा गरे । उता, पोल्यान्डमा आन्दोलनमा रहेका किसानले युक्रेनसँगको सीमा नाका बन्द गरेका छन्, युक्रेनबाट आयात हुने सस्तो खाद्यान्न र तरकारीले आफूहरुको उत्पादन नबिकेको भन्दै विरोध भएको छ । पोल्यान्डका किसानले ३० दिने आन्दोलनको घोषणा गरेका छन् ।

स्पेनका किसानले पनि अत्यधिक कर र वातावरणीय नियमको विरोध गर्दै देशभरका धेरै सडक, राजमार्ग र बन्दरगाहहरू अवरुद्ध गर्दै आएका छन् । उनीहरुले ट्र्याक्टरहरूसहित मड्रिड घेराउ गर्ने चेतावनी दिएका छन् । बुल्गेरियाका किसानहरुको विरोधले रोमानियासँगको नाका अवरुद्ध भएको थियो ।

किसानहरूले कम उत्पादन मूल्य, बढ्दो लागत, सस्तो आयात र जलवायु परिवर्तन विरुद्ध ईयूको नीतिहरूसँग सम्बन्धित प्रतिबन्धहरूको विरोधमा युरोपभरि प्रदर्शनहरू गरेका छन् । युरोपेली युनियनले वातावरण संरक्षणको लागि भन्दै तरकारी र खाद्यान्न बालीमा विभिन्न विषादी र कृषि प्रविधिमा रोक लगाएको छ।