समाचार

पाकिस्तानमा कुनै पनि दलले ल्याएनन् बहुमत, सेनाको भूमिका शंकास्पद

काठमाडौं । पाकिस्तानमा कुनै पनि दलले बहुमत ल्याउन नसकेको बताइएको छ । आम चुनावको अधिकांश नतिजा आइसक्दा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेका छैनन् । जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानले बिहीवारको चुनावमा जित हासिल गरेको दाबी गरेका छन्। उनको साथ पाएका स्वतन्त्र उम्मेदवारहरूले हालसम्म सबैभन्दा धेरै स्थानमा जितेका छन् ।

तर अर्का पूर्व प्रधानमन्त्री नवाज शरिफले आफ्नो दल सबैभन्दा ठूलो बनेको भन्दै अन्यलाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन्। समाचारहरूका अनुसार शरिफको पीएमएल-एन दल र अन्य समूहबीच गठबन्धन बनाउनेबारे छलफल चलिरहेको छ। आम चुनावको औपचारिक नतिजा घोषणा हुन अझै बाँकी छ। यस अवस्थामा सेनाको भूमिका शंकास्पद मानिएको छ । पाकिस्तानका शक्तिशाली सेना प्रमुखले देशलाई अराजकता र ध्रुवीकरणको राजनीतिबाट बाहिर निकाल्न आह्वान गरेका छन्। जेनरल असिम मुनिरले एउटा स्थिर नेतृत्व आवश्यक रहेको बताए।
चुनाव लड्न प्रतिबन्ध लगाइएसँगै पीटीआईलाई पार्टीको रूपमा मान्यता दिइएको छैन। एआईद्वारा तयार पारिएको एक भिडिओ सन्देश एक्समा राख्दै इमरान खानले आफ्नो पीटीआई पार्टीले विशाल जित हासिल गरेको बताएका छन्। उनले आफ्नो दलविरुद्धका अनेकौँ कारबाहीबीच आफूहरूले उक्त सफलता हासिल गर्न सकेको बताएका छन्।

उक्त सन्देशमा भनिएको छः म तपाईँहरू प्रत्येकलाई सन् २०२४ को चुनाव जितेकोमा बधाई दिन चाहन्छ, तपाईँहरूले इतिहास रच्नुभएको छ। खान यतिखेर जेलमा छन्। आफू दोषी पाइएका मुद्दालाई उनले राजनीतिक मनसायबाट प्रेरित बताएका छन्। पीटीआईसँग सम्बन्ध भएका उम्मेदवारहरूको जित अनपेक्षित खालको छ। किनकि त्यहाँ कैयौँ विज्ञहरूले शरिफलाई देशको शक्तिशाली सेनाको साथ रहेको बताउँदै आएका थिए। तर चुनाव लड्न प्रतिबन्ध लगाइएसँगै पीटीआईलाई पार्टीको रूपमा मान्यता दिइएको छैन।