स्थानीय

धापासीमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या भएको छ । उनको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले खड्काको हत्या आरोपमा उनका एक जना साथीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । सोमबार पत्रकार सम्मेलन गरेर यस विषयमा सार्वजनिक गर्ने तयारी छ ।

प्रहरीका अनुसार, दिपेश र पक्राउ परेका व्यक्ति दुवै मिस्त्री काम गर्दै आएका थिए । सामान्य विवादमा धारिलो वस्तु प्रहार गरेर हत्या गरेको भेटिएको बताइएको छ । प्रहरी वृत्त, महाराजगञ्जको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो । खड्काका केही साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानपछि घटनामा एक जनाको मात्र संलग्नता देखिएको छ । उता, शनिबार गौशालामा २८ वर्षीया प्रमिला दमाईको शव फेला परेको छ । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले बानेश्वरबाट एक जनालाई पक्राउ गरेको छ । दुबै जनालाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।