समाचार

साउदीमा रक्सी बनाएर बेच्दा सयौं नेपालीलाई जेल

काठमाडौं । साउदी अरवमा मदिरा प्रतिवन्धित छ । यही मदिरा सेवन र बनाएर विक्री गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिक साउदी अरबमा जेल परेको सार्वजनिकभएको छ । साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो र त्यहाँ झन्डै चार लाख नेपाली छन् । रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिवले बीबीसीसँग कुरा गर्दै बढी आम्दानी हुने लोभले नेपालीहरू मदिरा सेवन र बेचबिखनसँग सम्बन्धित कसुरमा जेल पर्ने गरेको बताएका छन् ।

साउदी अरबसहितका श्रम गन्तव्य प्रस्थान गर्नुअघि दिइने अभिमुखीकरण कार्यक्रमहरूमा ती देशमा गर्न नहुने गतिविधिहरूबारे जानकारी गराउने गरिएको छ । तर, यो प्रभावकारी नहुँदा नेपालीले यस्तो काम गरिरहेका छन् । रियादस्थित नेपाली राजदूतावासले साउदी अरबको जेल प्रशासनले उपलब्ध गराएको आँकडालाई उद्धृत गर्दै ४८० जना जति नेपाली उक्त खाडी देशका जेलहरूमा रहेको जनाएको छ।

वास्तविक सङ्ख्या त्यो भन्दा बढी हुनसक्ने बताइएको छ । राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीले ८० देखि ८५ प्रतिशत नेपालीहरू मदिरा सेवन, ‍ओसारपसार र उत्पादनको कसुरमा जेलमा रहेको बताएका छन् । सात दशकदेखि मदिरामाथि प्रतिबन्ध लगाएको साउदी अरबमा मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिवाना गराउने देखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय तोकिएको छ।