समाचार

प्यालेस्टाइन शरणार्थी बसेको शहरमा आक्रमणको योजनामा इजरायल, अन्तर्राष्ट्रिय समुदायको आपत्ति

REUTERS

काठमाडौं । प्यालेस्टिनी शरणार्थीले भरिएको दक्षिणी गाजास्थित रफाह सहरमा इजरायलले आक्रमणको योजना बनाएको छ । यसप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता र चेतावनी दिइरहेका छन् । ब्रिटिश विदेशमन्त्री डेभिड क्यामेरोनले इजरेली योजनाका कारण त्यस क्षेत्रमा आश्रय लिइरहेका गाजाका आधाभन्दा बढी जनसङ्ख्यालाई असर पर्न सक्ने बताएको बीबीसीले लेखेको छ ।

डच विदेशमन्त्री हान्क ब्राउन्स स्लटले इजरेली योजनाबाट धेरै आम नागरिकको ज्यान जानसक्ने बताइन्। साउदी अरबले रफाहमा आक्रमण भए त्यसको परिणाम धेरै गम्भीर हुने चेतावनी दिएको छ। गाजामा शासन गरिरहेको हमासले त्यहाँ दशौँ हजार हताहत हुन सक्ने बताएको छ। गत अक्टोबर ७ मा हमास बन्दुकधारीहरूले दक्षिणी इजरेलमा १,२०० जना भन्दा बढी मारिने गरी आक्रमण गरेपछि इजरेलले गाजामा निरन्तर हमला गरिरहेको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा भएको इजरेली हमलामा हालसम्म २७,९०० जना भन्दा बढी मानिसहरू मारिएका छन् भने कम्तीमा ६७,००० जना घाइते भएका छन्। अधिकांश गजावासीहरूले अक्टोबरयता कम्तीमा एक पटक आफ्नो घर छाडेर शरण लिन रफाहमा पुग्नु परेको छ। इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रवार हमासविरुद्धको नयाँ विस्तारित आक्रमणबारे घोषणा गरेपछि अन्तर्राष्ट्रिय समुदायबाट ती चेतावनीहरू आएका हुन्।