समाचार

नेपालमा अझै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी

काठमाडौं । नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण २०७९–८० अनुसार उक्त तथ्यांक देखिएको हो । यो चौथो जिवनस्तर सर्वेक्षण हो । यसअघि तेस्रो जीवनस्तर सर्वेक्षण २०६६–६७ नेपालमा गरिबी दर २५ दशमलव २ प्रतिशत रहेको देखाएको थियो ।

प्रदेशका आधारमा सबैभन्दा कम गरिबी गण्डकी र सबैभन्दा बढी सुदूरपश्चिममा देखिएको छ। शहर र गाउँको तुलनामा सबैभन्दा कम काठमाडौमा सात प्रतिशत र सबैभन्दा धेरै सुदूरपश्चिमका गाउँमा ४० प्रतिशत गरिब रहेको तथ्याङ्कमा उल्लेख छ । सर्वेक्षणका अनुसार धनी र गरिबबीचको असमानता नाप्ने जिनी सूचक शून्य दशमलव ३० पुगेको छ । यसले असमानता केही घटेको देखाएको हो ।

यसअघि जिनी सूचक शून्य दशमलव ३३ थियो । जिनी सूचक शून्य हुँदा समान अवस्था बुझिन्छ भने जिनी एक हुनु भनेको असमानता चरम अवस्थामा पुग्नु हो । सर्वेक्षणले दुई प्रतिशत परिवारसँग कार र २५ प्रतिशत परिवारसँग मोटरसाइकल रहेको देखाएको छ ।

२०७९ सालको असार १ गतेदेखि २०८० जेठसम्म ९ हजार ६ सय घपरिवारबाट नमुना भरेर प्रतिवेदन तयार पारिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । नेपालमा २०३४ सालदेखि गरिबी सर्वेक्षणको काम शुरु भएको हो । त्यसबेला ३६ प्रतिशत गरिबी थियो । २०४८ सालमा गरिबी ४९ प्रतिशत पुगेको थियो । कार्यालयले गरिबीको रेखा निर्धारण गर्न आम्दानी, खर्च र बहुआयामिक आधार मापदण्ड बनाएको थियो ।