बिचार

कोरला नाका छिट्टै खुल्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङको कोरला नाका आयात, निर्यातका लागि सञ्चालन गरिने बताएका छन् । उनले देशकै विकासको लागि कोरला नाकाको महत्व रहेको बताए । बागलुङको पञ्चकोटमा फागुन ९ देखि सुरु भएको महायज्ञ ११ औं दिनमा आएका प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रको विकासबाट देश समृद्ध बन्ने बताए ।

‘पर्यटकहरु सहजै आउने सडक र नाका खुलाउन सकेमा देशको अर्थतन्त्र बलियो बन्छ,’ दाहालले भने, ‘प्रधानमन्त्रीको हैसियतले मेरो ध्यान कोरला नाकामा छ । यो नाका खुल्दा छोटो बाटोमा धेरै आर्थिक क्रियाकलाप हुने छ ।’ प्रधानमन्त्री दाहालले धार्मिक पर्यटनले नेपालको अर्थतन्त्रमा सुधार भएको समेत बताए । ‘पौराणिक समाजवादमा धार्मिक अर्थतन्त्रको महत्व रहेछ,’ उनले भने, ‘आफ्नो लागिमात्रै कमाउने बाँकी सम्पत्ति राज्यको हुने अवस्था भएमा देशमा आर्थिक संकट पर्दैन ।’ उनले आध्यामिक चिन्तले मानिसमा समाजप्रतिको उत्तरदायित्व सम्झाउने गरेको समेत बताए ।

गौशालाको गाई संरक्षणमा पनि प्रधानमन्त्रीले जोड दिएका छन् । उनले आयुर्वेदिक औषधि उत्पादन र उपयोगमा पनि गौशालाको महत्व भएको बताए । शनिबार ब्रम्हाण्डीय महायज्ञमा पुग्दा प्रधानमन्त्रीको अधिकांश मन्तव्य धार्मिक थियो । उनले समाजमा स्थायी शान्ति स्थापनाका लागि पनि आध्यात्मिक चिन्तन चाहिने बताए । उनले धर्म, संस्कृति र संस्कार संरक्षणमा जोड दिए । राज्यले पनि यस्ता क्रियाकलापमा उच्च सम्मान गर्ने भन्दै महायज्ञ आयोजक कमलनयनाचार्यको प्रशंसा गरे ।

उनले बागलुङमा स्थापना भएको शालग्राम संग्रहालय, निर्माण गरिन लागेको १ सय ८ फिट अग्लो गण्डकी कलश लगायतका संरचना निर्माणमा सरकारको पनि ध्यान गएको बताए । उनले ती संरचना र पर्यटकीय क्षेत्रको विकासमा साथ दिने बताए । साथै उनले कालीगण्डकी नदी संरक्षणमा पनि जोड दिए । ‘जल संरक्षणबाट हाम्रो सभ्यता पनि बचाउन सकिन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘जल संरक्षणको प्रतिक बनाउन लागिएको विश्वशान्ति गण्डकी कलशले नागरिकलाई थप सन्देश दिनेछ ।’

कमलनयनाचार्यले २० वर्षअघि मुक्तिनाथमा स्वास्थ्य सेवा पुर्‍याएको, नवलपरासीमा गजेन्द्रमोक्ष धाम बनाएको र भक्तपुरमा बनेको श्रीवन, पञ्चमहालक्ष्मी मन्दिर लगायतले धार्मिक पर्यटक भित्र्याउन सहयोग पुगेको भन्दै ती पर्यटकबाट देशकै अर्थतन्त्रमा सुधार आएको समेत बताएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिजय महासंघका अध्यक्ष चन्द्र ढकालले कोरला नाका, बागलुङसहित धौलागिरिका पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा राज्यको लगानी र ध्यान जानुपर्ने धारणा राखेका थिए । महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेलसहित मन्त्रीहरु पनि आइसकेका छन् ।