समाचार

प्रचण्डलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । मंगलबार संसदीय दलको बैठकले सांसदहरुलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सेचतक महेश बर्तोलाले जानकारी दिए । ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टीले ह्वीप जारी गरेको छ,’ उनले भने, ‘सरकारलाई बलियो बनाउनु पर्ने छ । प्रभावकारी काम गर्नुपर्ने अवस्था छ ।’ प्रतिनिधिसभामा एमालेका ७६ सांसद छन् ।

नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री दाहालले बुधबार विश्वासको मत लिँदैछन् । संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मन्त्री र सांसदले सरकार बलियो बनाउन निर्देशन दिए । उनले अघिल्लो गठबन्धन सरकारबाट कमजोरी भए पनि नयाँ गठबन्धनले राम्रो काम गर्ने विश्वास व्यक्त गरे ।

‘जनताको कामलाई केन्द्रमा राखेर भूमिका निर्वाह गर्नुस्’ ओलीको निर्देशन थियो, ‘मन्त्रीलाई सुस्त हुने छुट छैन । तपाईंहरु प्रश्नको घेरामा नपरेर काम गर्नुस् ।’ उनले सरकारले अघि सारको सुशासन, समृद्धि, सामाजिक न्याय र विकासमा केन्द्रित हुन मन्त्री र संसद्‌मा प्रभावकारी भूमिका खेल्न सांसदलाई निर्देशन दिए ।