विज्ञान प्रविधि

टिकटकको स्वामित्व अमेरिकाले नपाए प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । चिनियाँ नागरिकको स्वामित्वमा रहेको टिकटक अमेरिकालाई नबेचे सो एप देशभर प्रतिबन्ध लगाउने विधेयक अमेरिकन हाउस अफ रिप्रेजेन्टेटिभले पास गरेको समाचारहरुमा उल्लेख छ । चिनियाँको स्वामित्वमा रहेको टिकटक अमेरिकाका लागि सुरक्षा चुनौती भएको भन्दै बुधबार अमेरिकी हाउसले यस्तो विधेयक पास गरेको हो। द न्यूयोर्क टाइम्सका अनुसार यो विधेयक अब सिनेटमा जानेछ। सिनेटले यो विधेयक पास गर्छ कि गर्दैन भन्ने यकिन छैन।

दुबै सदन हाउस र सिनेटले पास गरेपछि यो विधेयक राष्ट्रपतिकहाँ जान्छ। राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो विधेयक कानुन बन्नेछ। राष्ट्रपति जो बाइडेनले कंग्रेस (दुबै सदन) ले यो विधेयक पास गरेमा आफूले हस्ताक्षर गर्ने बताएका छन्। चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा अहिले १५ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू छन्।

यो बाइटडान्स कम्पनी चीन सरकारको भएको र यसले अमेरिकी प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणहरू संकलन गरिरहेको अमेरिकी हाउसका सदस्यहरूको भनाइ छ। चीनले कुनै पनि बेला प्रयोगकर्ताहरूको थप विवरण माग्ने पनि उनीहरूको भनाइ छ। यसबाट अमेरिकालाई असुरक्षा हुने भन्दै उनीहरूले कि टिकटकको स्वामित्व बेच्नुपर्ने, नभए प्रतिबन्ध लगाउनुपर्ने भनेका हुन्।