समाचार

एकीकृत समाजवादी त्यागेको दीपक मनाङ्गेको घोषणा

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । आइतबार मनाङेले आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेशसभा सचिवालयमा पत्र बुझाएका छन् ।

एकीकृत समाजवादीमा प्रवेश गरेपछि त्यही दलको सदस्यका रुपमा संसदमा जानकारी आएको थियो र त्यहीरुपमा सूचीकृत गराइएको थियो । अहिले दल त्यागेर स्वतन्त्र नै रहेको जानकारी उनले गराएका छन् । मनाङेले आफूले स्वतन्त्र हैसियतमा चुनाव जितेकाले स्वतन्त्र नै रहने भन्दै पत्र दिएपछि प्रदेशसभा सचिवालय परामर्शमा जुटेको छ ।


प्रदेशसभा सदस्य मनाङेले गण्डकीमा अप्ठेरो अवस्था देखिएकाले मध्यावधि चुनावमा जान सक्ने अवस्था रोक्न आफूले स्वतन्त्र रहने निर्णय गरेको बताएका छन् ।

२१ फागुनमा एमाले–कांग्रेससहितको गठबन्धन बनेपछि गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । कांग्रेसबाट निर्वाचित पाण्डेले २२ फागुनमै माओवादी केन्द्रका मन्त्री बर्खास्त गरे भने माओवादीले पनि समर्थन फिर्ता लिएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे छन् । यो स्थितिमा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन । उता एमाले र माओवादीले मात्र सरकार बनाउन सक्ने अवस्था छैन ।

गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ । तर, मनाङे पनि स्वतन्त्र बसिदिँदा अहिलेको सत्ता समीकरणको सजिलै सरकार बन्ने स्थिति पनि छैन । माओवादी सांसदको रुपमा गणना भएका फणीन्द्र देवकोटा पनि नेपाल समाजवादी पार्टीका नेता हुन् । उनी माओवादी चुनाव चिह्नबाट निर्वाचित भएका थिए । उनलाई पनि नेपाल समाजवादी पार्टीको सांसद कायम गराइदिन अध्यक्ष बाबुराम भट्टराई निर्वाचन आयोगमा पत्र लेखेका छन् ।

संघीय सांसद महिन्द्र राय यादव, बागमतीका सांसद गंगानारायण श्रेष्ठले माओवादीसँग एकता गर्ने निर्णय गरे पनि फणीन्द्र भने अहिले पनि बाबुरामकै साथमा छन् । शनिबारमात्र काठमाडौंमा भएको कार्यक्रममा पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र बाबुरामबीच सत्ता समीकरणबारे पनि छलफल भएको थियो ।

२७ सांसदसहित कांग्रेस नेतृत्वमै सरकार कायम राख्न पाण्डेले राप्रपालाई पनि फकाइरहेका छन् । राप्रपाका २ सांसदसहित मनाङे र फणीन्द्र पनि पाण्डेकै पक्षमा उभिने स्थिति बनाउन मुख्यमन्त्री पाण्डेले कसरत गरिरहेका छन् ।