समाचार

साहित्यकार परशु प्रधानको निधन

काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । सोमबार राति बानेश्वरस्थित निवासमा उनको निधन भएको हो । प्रधानको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग २० मा श्रद्धाञ्जलीका लागि राखिएको छ । आजै ९ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परशु प्रधानका छोरा एवम् बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी दिएका छन् ।

विसं २००० मा भोजपुरमा जन्मिएका परशु प्रधानले गद्य अर्थात् कथा र उपन्यास विधामा कलम चलाउने गरेका थिए । पी।आर। प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना वि।सं। २०१६ सालमा विराटनगरबाट प्रकाशित हुने छहारीमा ‘हाँसेकी ती चन्द्रमा’ शीर्षकमा प्रकाशित भएको थियो ।

सुरुमा उनले कविता लेख्ने गरे पनि पहिलो कविता संग्रह ‘जीवनपथ’ प्रकाशित भएपछि भने कवितालाई चटक्कै छाडेर कथालाई मूल विधाका रुपमा अपनाएका थिए । उनका १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । उनका बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह प्रकाशित छन् । प्रधानले बाल साहित्यमा पनि कलम चलाएका थिए । उनका नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित छन् ।