समाचार

समाजवादीले दीपक मनाङेसँग स्पष्टीकरण सोध्ने

काठमाडौं । स्वतन्त्र हैसियत मागेको भोलिपल्ट नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका राजीव गुरुङ (दीपक मनाङे)लाई एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने भएको छ । एकीकृत समाजवादी पार्टीको सदस्य भएर पार्टीसँग सल्लाह नै नगरी मन्त्री भएकोबारे बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । मनाङेलाई मंगलबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त गरेका थिए ।

४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । माओवादीले समर्थन फिर्ता लिएपछि फागुन २३ गतेबाट पाण्डे सरकार अल्पमतमा छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७ छन् ।


एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८ छन् । अहिलेको सत्ता समीकरणअनुसार सरकार बन्न नदिने योजनाअनुसार पाण्डेले एकीकृत समाजवादी त्यागेर स्यतन्त्र हैसियत मागेका मनाङेलाई मन्त्री बनाएका छन् । तर, गण्डकीमा २ सदस्य भएको राप्रपा निर्णायक देखिएको छ ।

आन्दोलनको कार्यक्रम घोषणा गरेर सरकारमा नजाने बताइरहेको राप्रपालाई एमाले र कांग्रेस दुबैले फकाइरहेका छन् । राप्रपाले साथ दिइहाल्यो भने पनि पाण्डेका निम्ति बहुमत संख्या ३१ पुग्दैन । यस्तो अवस्थामा नेपाल समाजवादी पार्टीबाट हँसिया हथौडा चुनाव चिह्नमा विजयी फणिन्द्र देवकोटालाई पनि तान्ने योजना पाण्डेको छ ।