समाचार

हिउँदे वर्षा कुन स्थानमा धेरै ?

काठमाडौं । गत चौबिस घण्टामा धनकुटाको पाख्रिबास स्टेसनमा भारी वर्षा भएको रेकर्ड छ । पाख्रिबासमा ५२.४ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । इलामको राँकेमा ४६.२, सिन्धुलीको रानिबास ४५.८, सिरहाको गोलबजारमा ४३.८, खोटाङ बजारमा ४२, जनकपुर विमानस्थलमा ३७, सप्तरीमा ३५.४ र रौतहटको गौरमा २६.८ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै वर्षा ललितपुरको लेलेमा रेकर्ड भएको छ । लेलेमा २१.६ मिलिमिटर वर्षा भएको छ । ललितपुरकै गोदावरीमा २०.२, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३, बबरमहलमा १२, कीर्तिपुरमा र धाप ड्याममा ११.८ तथा कपनमा ९.६ मिलिमिटर वर्षा रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान ८ः४५ बजे वर्षाको आधिकारिक विवरण सार्वजनिक हुने भएकाले त्यो समयमा तथ्याङ्कमा केही फरक पर्न सक्ने महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले मंगलबार रातिदेखि नै नेपालका पूर्व र मध्य भागमा बदली र वर्षा हुँदै आएको छ । बुधबार दिनभरजसो पानी परेको थियो । यो क्रम आज बिहीबार पनि जारी रहने मौसमविदले बताएका छन् ।