समाचार

बंगलादेशी नागरिकलाई यूरोप पठाउने प्रलोभनमा जब नेपालमा बनाइयो बन्धक...

काठमाडौं । बंगलादेशी नागरिकलाई युरोपका विभिन्न देशहरु पठाउने भन्दै नेपाल ल्याइ बन्धक बनाएको आरोपमा चार बंगाली नागरिकहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१ वर्षीय शामिम अहमद र ३३ वर्षीय प्रणय कुमार दे छन् । उनीहरु सबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यो समूहले बंगलादेशी नागरिकहरुलाई रोजगारीका लागि युरोपका विभिन्न देशहरुमा पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाएको पाइएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए ।

बंगलादेशबाट नेपाल ल्याई पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलमा बन्धक बनाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले चार जनालाई उद्धार गर्नुका साथै चार जनालाई पक्राउ गरेको हो । उनीहरुलाई ५ चैतमा बंगलादेशबाट काठमाडौं ल्याएर बन्धक बनाइएको थियो । होटलमा बन्धक बनाएर पासपोर्ट नियन्त्रणमा लिने, कुटपिट गर्ने र रकम असुल्न गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय परिसर पठाइएको छ ।